काठमाडौँ- नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारका मन्त्रीहरूको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।
संसद भवन नयाँबानेश्वरमा शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकमा कांग्रेस सांसदहरुले सरकार एकतर्फी ढंगले अघि बढिरहेको र कांग्रेसको कुरा नसकेको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन्।
गभर्नरको नियुक्ति बिनाकारण अड्काएर राखिएको समेत कांग्रेसका सांसदहरूको ठहर छ। बैठकमा सांसदहरुले समान ढंगले बजेटको बितरण हुनुपर्ने लगाएतका सुझाव दिएका थिए।
‘बैठकमा गभर्नरको नियुक्ति, बजेटको क्षेत्रगत र सन्तुलनसहितको वितरणलगायतका विषयमा छलफल भएको छ,’ कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले भने।
संयुक्त सरकारमा कांग्रेसको पोजिसनका विषयमा पनि सांसदहरुले कुरा राखेका थिए। प्राविधिक कारणले गभर्नर नियुक्तिमा ढिलाइ भएको भन्दै एमालेले कांग्रेसलाई दिन नचाहेको भन्ने सत्य नभएको उल्लेख घिमिरेको जिकिर छ।
प्रमुख सचेतक घिमिरेले पार्टी सभापतिले माओवादी नेताहरुसँग छलफल गर्नु सामान्य भएको भन्दै माओवादीसँग गठबन्धन गरेर जाने कुनै सम्भावना नरहेको स्पष्ट पारे। सरकार परिवर्तनको कुनै सोच र योजना कांग्रेसले नराखेको उनको भनाइ छ।
कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले ठूला दुई पार्टीको गठबन्धन रहेको अवस्थामा कांग्रेसका कुराहरु यथेष्ट सुनिएन की भन्ने चिन्ता सांसदहरुको रहेको बताए। उनले कतिपय नियुक्तिमा भइरहेको ढिलाइका विषयमा पनि सांसदहरुले चासो व्यक्त गरेको उनले जानकारी दिए।
महतले प्रचण्ड र सभापतिबीचको कुराकानी सामान्य विषय भएको र यसमा सरकार परिवर्तनको कुनै गुञ्जायस नरहेको जिकिर गरेका थिए।


