काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले पदको दुरुपयोग गरेर आफन्तलाई कहीँकतै अवसर नदिइएको दाबी गरेकी छन्।
शाक्यले आफ्नो पुस्तक ‘करुणा’ बारे सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा केपी शर्मा ओली राज्यको विभिन्न पदमा हुँदा कोही पनि नातागोता, आफन्तलाई पदको दुरुपयोग गरी भर्ना नगरिएको र अनुचित सुविधा नदिइएको दाबी गरेकी हुन्।
‘मसँग त त्यस्तो माग लिएर आउँदैनन्। मैले केही गर्दिनँ भन्ने पनि थाहा छ, म कडा छु भन्ने पनि थाहा छ सबैलाई,’ शाक्यले भनिन्, ‘हामीतिर आउनका लागि मान्छे खोज्दै हिँड्दा रहेछन्। कसलाई भन्दा त्यहाँभित्र जान सकिन्छ भनेर खोज्ने रहेछन्।’
घरतिरका भन्दा पनि आफ्ना माइती पक्षका मानिसलाई विभिन्न स्वार्थ बोकेका मानिसले त्यसरी दुःख दिन आउने गरेको पनि बताइन्। मानिसहरूले पहुँच बनाइदिनका लागि आफ्नो बहिनी–ज्वाइँलाई दुःख दिएकै कारण उनीहरू आफ्नो गाउँ छाडेर अर्को गाउँमा गएर बस्नु परेको पनि उनले सुनाइन्।
शाक्यले आफ्नी कान्छी बहिनीको एउटा प्रसङ्ग पनि सुनाइन्। ‘मेरो कान्छी बहिनी प्रसूति अस्पतालको स्टाफ नर्स। साँझ क्लिनिकमा काम गर्ने। क्लिनिकमा जान हतार भएर एक दिन ट्याक्सी चढेर गइछ। ओलीले नातागोता मात्र हेर्छ, आफन्तलाई गाडीलगायत विभिन्न सुविधा दिन्छ भनेर ट्याक्सी चालकले भनेछ,’ शाक्यले भनिन्, ‘त्यो सुनेर बहिनीलाई रिस उठेछ।’
‘ट्याक्सीबाट झर्ने बेलामा चालकलाई उसले गाली गरिछ। म ओलीको साली हो, हामीले कहाँबाट सुविधा पाएको छ? सुविधा पाएको भए तिम्रो ट्याक्सीमा चढ्नु पर्थ्यो र भनेर उसले भनिछ,’ शाक्यले भनिन्।


