काठमाडौँ- रिलायन्स फाइनान्स र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)बीच एनपीएस तथा डोमेस्टिक कार्ड स्किम नेपाल पे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ।
सम्झौतापत्रमा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।
एनसीएचएलले हालै एनपीएस एनसीएस पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपाल पे कार्ड इस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेको छ। यस अनुरूप विभिन्न बैंक तथा वित्तीय संस्था नेपाल पे कार्ड र एनपीएस एनसीएसमा क्रमशः आबद्ध हुँदैछन्।
नेपाल पे पूर्वाधारको कमर्शियल रोलआउटपछि रिलायन्स फाइनान्सले आफ्ना ग्राहकहरूलाई नेपाल पे कार्ड इस्यू तथा अक्वायर गर्न सक्षम हुनेछ।
एनपीएस एनसीएसलाई विभिन्न कार्ड स्विचहरूबीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरूको राउटिङ र सेटलमेन्टका लागि एक केन्द्रीय कार्ड स्विचको रूपमा स्थापना गरिएको छ।
यस प्रणालीको पूर्ण कार्यान्वयनले डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नयाँ उपकरणहरूको विकास तथा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।


