काठमाडौं- नेपाल पर्यटन बोर्डको नियमित ‘फोटो नेपाल’ प्रदर्शनी कार्यक्रमअन्तर्गत ‘कुण्डलिनी–२’ शीर्षकमा आयोजित एकल चित्रकला प्रदर्शनी तथा कुण्डलिनी योग पुस्तकको लोकार्पण कार्यक्रम काठमाडौंको भृकुटीमण्डपस्थित बोर्डको परिसरमा सम्पन्न भएको छ।
नेपाल पर्यटन बोर्डमा आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले गरेका हुन्। चित्रकार भीमप्रसाद शर्माको यो १३औं एकल चित्रकला प्रदर्शनी हो।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्ता सिर्जनात्मक प्रदर्शनीहरूले कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने बताउँदै, पर्यटन बोर्डको यो प्रकारको प्रयासको प्रशंसा गरेका छन्।
त्यसैगरी पर्यटन बोर्डका सीईओ प्रमुख जोशीले पर्यटन बोर्डले आगामी दिनमा कलाकार र फोटोग्राफरहरूसँग सहकार्य गरी देशको पर्यटन प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् । प्रदर्शनी जेठ १० गतेसम्म निःशुल्क रूपमा सर्वसाधारणका लागि खुला रहनेछ।
त्यस्तै, नेपाल पर्यटन बोर्डले सञ्चालन गर्दै आएको फोटोनेपाल अभियानअन्तर्गत बोर्डको पोर्टलमा मासिक फोटो प्रतियोगितासमेत जारी छ। यस प्रतियोगितामा हरेक महिनाका उत्कृष्ट तीन तस्बिरहरूलाई जनही २५ हजार नगद पुरस्कार प्रदान गरिने बोर्डले जनाएको छ।
नेपालका हिमाल, सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य र उजागर नभएका र प्रचार नपुगेका गन्तव्यहरू समेटिएका तस्बिरहरू पठाउन बोर्डले देशविदेशका फोटोग्राफरहरूलाई आह्वान गरेको छ।
बोर्डले सन् २०१६ फेब्रुअरीदेखि सुरु गरेको फोटोनेपाल अभियानअन्तर्गत हालसम्म १०० भन्दा बढी कला तथा फोटो प्रदर्शनीहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ।


