झापा– चार लेनको फराकिलो पुल र चिल्लो सडक। बटुवा हिँड्ने बेग्लै फुटपाथ। ठाउँ–ठाउँमा संकेत चिह्न। रातमा झलमल्ल सडकबत्तीको उज्यालो। सडक किनारमा रेलिङ र माझमा डिभाइडर। पूर्वीद्वार काँकडभिट्टासम्म एक वर्षअघि नै आइपुगेको एसियाली राजमार्गको मनमोहक झलक हो, यो।
कोरोना कहरका बेला संसार कोठामा बन्दी भएका बेला काँकडभिट्टामा एसियाली राजमार्ग निर्माणको काम धमाधम भइरहेको थियो। कोरोना महामारीको बन्दाबन्दीको दुईवर्षे अन्तरालपछि काँकडभिट्टा आइपुग्नेका लागि यो राजमार्गको झल्को अकल्पनीय थियो। टाढाबाट आन्तरिक पर्यटक काँकडभिट्टाको एसियाली राजमार्ग हेर्नै भनेर पनि आउने गरेका छन्।
सफा र फराकिलो ४ लेनको सडक मात्र होइन, मेची नदीमा निर्मित चार लेनकै अत्याधुनिक पुलको सौन्दर्यले पर्यटक र यात्रुलाई उत्तिकै आकर्षित गरेको छ। पुल र सडकमा उभिएर खिचिएका तस्बिर र भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्नेहरूको ताँतीले एसियाली राजमार्ग आफैंमा पर्यटकीय स्थल बन्न पुगेको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले बताइन्। उनले एसियाली राजमार्गका कारण तेस्रो मुलुकबाट पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल प्रवेश गर्ने पर्यटकलाई आकर्षण गर्ने, यात्रा छिटो र छरितो हुने बताइन्।
एसिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘महान एसियाली राजमार्ग’अन्तर्गत नेपालको १ किलोमिटर भागमा मात्र यसको संरचना पूर्ण रूपमा निर्माण भएको छ। बंगलादेशबाट भारतको बागडोग्रा हुँदै पानीटंकी नाकाबाट नेपालतिर सोझिने एसियाली राजमार्गको रुट नं २ अन्तर्गत भारतले मेची नदीमा एसियाली राजमार्ग स्तरकै पक्की चार लेनको पुल निर्माण गर्दा नेपालतिरको करिब डेढ किलोमिटर भागसम्म पहुँच सडक विस्तार गरेको हो। यही पहुँच सडक र पुल नेपालभित्र निर्मित एसियाली राजमार्गको पहिलो संरचना मानिन्छ।
नेपाल–भारत सीमास्थित मेची नदीमा बनेको पक्की ६ लेनको पुल ७९० मिटर लामो रहेको छ। ६ लेनको ५ सय मिटर पहुँचमार्गले काँकडभिट्टाको मुख्य बजारलाई जोडेको छ। एसियाली राजमार्ग एसियाका ३२ मुलुकलाई स्थलमार्गले जोड्ने एसियाली राजमार्गको कुल लम्बाइ १ लाख ४१ हजार किलोमिटर रहने बताइएको छ।
सबै मुलुकमा एउटै स्तर र मापदण्डमा आधारित भएर निर्माण हुने यो राजमार्गले एसियाली देशबीचको सम्बन्ध र सम्पर्कलाई अझ नजिक तुल्याउने अपेक्षा गरिएको छ। स्थल मार्गबाट एसियाका देशलाई जोडेर व्यापार र पर्यटन प्रवद्र्धन गर्ने मूल उद्देश्य बोकेको एसियाली राजमार्गको अवधारणा पुरानै हो।
सन् १९९२ मै एसियालाई युरोपसँग जोड्न एसियाली राजमार्गको अवधारणा ल्याइएको थियो। ‘युनाइटेड नेसन्स इकोनोमिक्स एन्ड सोसल कमिसन फर एसिया एन्ड द प्यासिफिक’ नामक संयुक्त राष्ट्रसंघको निकायले यसका लागि एसियाली मुलुकसँग प्रस्ताव गरेपछि ३२ मुलुकले यसलाई स्वीकार गरे।
एसियाली राजमार्ग आफैंमा अलग राजमार्ग होइन। चालू अवस्थाकै विभिन्न मुलुकमा रहेका अन्तरदेशीय राजमार्गको सञ्जालका रूपमा यसको पुनःनिर्माण भइरहेको हो। पुराना राजमार्गलाई नै नयाँ नक्सांकन गरेर राजमार्गलाई ‘क’ श्रेणीमा पुनःनिर्माण गरिने कार्य हाल तीव्र रूपमा भइरहेको छ। एसियाली विकास बैंक (एडिबी) र एसियाली इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआइइबी)को लगानी र चीन, सिंगापुर, दक्षिण कोरियालगायतका सम्पन्न देशहरूको ठूलो लगानीमा एसियाली राजमार्गको विस्तार भइरहेको छ।
नेपालमा २ रुट एसियाली राजमार्गको स्वीकृत रुटमा नेपाल चारै दिशाबाट समेटिएको छ। पूर्वमा काँकडभिट्टा, पश्चिममा वनबासा, उत्तरमा तातोपानी र दक्षिणमा वीरगञ्जबाट उक्त राजमार्ग नेपाल भित्रिनेछ। थाइल्यान्डको बंैककबाट सुरु हुने रुट–२ अन्तर्गत म्यानमार, बंगलादेश र भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्गमा मिसिन्छ।
यो राजमार्ग हालको पूर्व–पश्चिम राजमार्ग भएर पश्चिम नेपालको वनबासा हुँदै भारतको दिल्लीतर्फ सोझिनेछ। भारतको दिल्लीबाट पाकिस्तानको कराँचीसम्म यो रुटले थाइल्यान्ड, म्यानमार, बंगलादेश, भारत, नेपाल र पाकिस्तान गरी ६ वटा मुलुकलाई जोड्नेछ। यसले नेपालको पूर्व–पश्चिम राजमार्गलाई एसियाली राजमार्गमा रुपान्तरण गर्ने निश्चित छ।
रुट–४२ अन्तर्गत भारतबाट नेपाल प्रवेश गर्ने एसियाली राजमार्गको अर्को रुट चीनको तिब्बत प्रान्तको राजधानी ल्हासा पुग्नेछ। यसले अरनिको राजमार्गलाई एसियाली राजमार्गमा रुपान्तरण गर्नेछ। अरनिको राजमार्गअन्तर्गत कोटेश्वर–सूर्यविनायकको काम सकिएको छ। सूर्यविनायकबाट धुलिखेल हुँदै यो सडक चीनतिर जानेछ।
भारतको रक्सौलबाट नेपाल प्रवेश गर्ने यस रुटमा वीरगञ्ज, नारायणगढ, काठमाडौँ, धुलिखेल, बाह्रबिसे र तातोपानी जोडिनेछन्। लामो सडक भारतमा बन्ने एसियाका ३२ मुलुकमा एसियाली राजमार्ग निर्माण हुनेछन्। सोमध्ये सबैभन्दा लामो खण्ड भारतमा निर्माण हुने बताइएको छ।
छिमेकी भारतमा उक्त राजमार्गको २७ हजार ९८७ किलोमिटर खण्ड निर्माण हुनेछ। दोस्रो लामो सडक चीनमा बन्नेछ। चीनमा एसियाली राजमार्गको २५ हजार ५७९ किलोमिटर खण्ड निर्माण हुने भएको छ।
नेपालमा पूर्व काँकडभिट्टाबाट पश्चिम वनबासा र उत्तर तातोपानीबाट दक्षिण वीरगञ्जसम्मको १ हजार ३२१ किलोमिटर लामो सडक निर्माण हुनेछ।
यसैगरी बंगलादेशमा १ हजार ८०४ किमि, श्रीलंकामा ६ सय ५० किमि, पाकिस्तानमा ५ हजार ३७७ किमि र भुटानमा २७६ किमि सडक बन्ने भएको छ। भुटानको थिम्पुबाट भारत–बंगलादेश सीमा च्यांग्राबन्धसम्म एसियाली राजमार्गले जोडिनेछ। पूर्वमा असारदेखि काम सुरु हुने पूर्वतिर काँकडभिट्टाबाट सुनसरीको लौकहीसम्मको ९५.५ किलोमिटर सडक खण्डमा एसियाली राजमार्गअन्तर्गत सडक तथा पुल निर्माणकार्य सुरु गरिने भएको छ।
एसियाली विकास बैंकले सो सडक निर्माणका लागि ३० करोड अमेरिकी डलर (रु ३८ अर्ब) बराबरको ऋण स्वीकृत गरेको छ। नेपालले आन्तरिक स्रोतबाट ७ अर्ब लगानी जुटाउनुपर्नेछ। यो सडक बनाउन एसियाली विकास बैंकको आयोजना निर्देशनालयले ठेक्का प्रक्रिया अघि बढाइसकेको छ। विभिन्न खण्डमा गरेर सडक निर्माण गरिने भएको छ।
सहरी क्षेत्रमा ६ लेन र अन्य स्थानमा ४ लेन मात्र सडक निर्माण गरिने बताइएको छ। एसियाली विकास बैंक आयोजना निर्देशनालयका उपआयोजना निर्देशक प्रदीप शाक्यले झापाबाट सुनसरीको लौकहीसम्मको एसियाली राजमार्गमा ६ वटा आधुनिक आर्कब्रिज, चारआली, बिर्तामोड र इटहरीमा अन्डर–पास निर्माण गरिने बताए। अहिलेका पुराना सबै पुललाई विस्थापित गरी नयाँ र फराकिला पुल निर्माण गरिने उनको भनाइ छ।
उनका अनुसार कोसी नदी पश्चिमको लहान खण्डमा निर्माणकार्य धमाधम भइरहेको छ भने नारायणगढ–हेटौँडा–पथलैया–कमला खण्डमा पनि काम अघि बढाइने भएको छ। नेपालको पूर्व–पश्चिम राजमार्गलाई ‘सी–ग्रेड’को मानिन्छ। अब पूर्व–पश्चिम राजमार्गलाई स्तरोन्नति गरेर एसियाली राजमार्ग मापदण्डअनुरुप ‘ए–ग्रेड’को बनाउनुपर्नेछ।
उनले बजार क्षेत्रमा भने ६ लेनको सडक बनाइने बताए। मेची उद्योग वाणिज्य संघ मेचीनगरका पूर्वअध्यक्ष विजय डालमियाले भारत, चीन, बंगलादेश, भुटानजस्ता भौगोलिक तथा व्यापारिक निकटता भएका देशलाई सुविधाजनक सडक मार्गबाट जोड्ने एसियाली राजमार्गको स्थापनाबाट नेपालले व्यापारिक र पर्यटकीय चहलपहल बढ्ने बताए। फराकिलो सडकका कारण सडकमा हुने सवारी दुर्घटना न्यूनीकरण हुने, पूर्वीनाकाबाट स्थलमार्ग हुँदै आउने पर्यटकको संख्या बढ्ने हुँदा मुलुकको अर्थतन्त्रमै टेवा पुग्ने उनको भनाइ छ।



