काठमाडौँ- केही महिनाअघि युट्युबमार्फत सार्वजनिक सामाजिक सन्देश बोकेको सर्ट फिल्म ‘लापत्ता सन्तान’ युट्युबबाट गायब भएको छ। दर्शकबाट राम्रो प्रतिक्रिया र चर्चा पाउन सफल फिल्म ओएसआर डिजिटलले आफ्नो युट्युबबाट सार्वजनिक गरेको थियो।
फिल्मका निर्मार्ता, लेखक र निर्देशक रामजी ज्ञवाली हुन्।फिल्म ओएसआर डिजिटलबाट गायब नभएर हटाइएको निर्देशक ज्ञवाली बताउँछन्। उनी भन्छन्, ‘फिल्मको अन्तर्राष्ट्रिय फेस्टिभलमा माग आएको र भाइरल र द्विअर्थी सामग्रीले भरिएको डिजिटल बजारमा यस्तो गम्भीर विषयलाई त्यत्तिकै राख्नु उपयुक्त नलागेर हटाएका हौँ।’ फिल्म फेस्टिभलहरू घुमेपछि फेरि ल्याउने उनले जानकारी दिए।
सेलिब्रेटी टाइम्स प्रा.लिको ब्यानरमा निर्माण भएको फिल्म ले समाजमा तीव्र रूपमा बढ्दै गइरहेको सामाजिक संवेदनशीलता र बुबाआमाप्रति उपेक्षाको भावनालाई विषयवस्तु बनाएको छ।फिल्मले वृद्धाश्रममा राख्ने प्रवृत्तिमाथि गहिरो प्रश्न उठाएको छ। बुबा आमाको महत्त्व र सन्तानको अभिभावकप्रतिको हेलचेक्राईलाई यसले राम्रैसँग देखाउन खोजेको छ।
फिल्ममा रस्मी भट्ट, अर्जुन आचार्य, ओजस्वी विक्रम विष्ट, आशिष पराजुली, सविना राउत लगायतका कलाकारहरूको अभिनय छ।निरज कंडेलको छायांकन, नहकुल खड्काको सम्पादन रहेको फिल्मको साउण्ड डिजाइनिङ भरत कंडेल, र कलर ग्रेडिङ राजेन्द्र मोक्तानले गरेका हुन्।
निर्देशक रामजी ज्ञवालीले यसअघि डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’, डकुड्रामा ‘मौन’ जस्ता सामाजिक सन्देशयुक्त प्रोजेक्टहरू निर्माण गरिसकेका छन्। त्यस्तै उनले ‘डार्कमुन’, ‘आराध्या’, ‘लिलामी’, ‘हनिमुन’, ‘एकलभर’ जस्ता सर्ट फिल्म र विभिन्न म्युजिक भिडियोहरू पनि निर्देशन गरिसकेका छन्।


