काठमाडौँ- धनुषामा आफ्नै श्रीमतीको हत्याको आरोप लागेका पति पक्राउ परेका छन्।
आफ्नै श्रीमतीको हत्या गरी पूजाकोठामा शव गाडेको आरोपमा लक्ष्मीनिया गाउँपालिका बनिनियाका पति हरिराम यादव पक्राउ परेका हुन्।
गत फागुन १७ गते धनुषाकी २० वर्षीया अञ्जलि यादवको शव आफ्नै घरको पूजाकोठामा गाडिएको अवस्थामा फेला परेको थियो। पति हरिरामले नै उनको हत्या गरी शव गाडेको आरोप छ।
त्यसयता फरार रहेका हरिराम यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको हो।
हरिराम र अञ्जलीका १० महिने छोरी पनि थिइन्। बाबु पक्राउ परेको र आमाको शव भेटिएको भएपनि छोरीको अवस्था अझसम्म अज्ञात छ।
अञ्जलीको शव भेटिनुभन्दा केही दिन अगावै रामहरी छोरी लिएर बेपत्ता बनेका थिए।
स्थानीयका अनुसार पतिपत्नीबीच विवाद भएको थियो। रिसको आवेगमा आएर उनले पत्नी अञ्जलिको हत्या गरेको हुन सक्ने आशंका गरिएको छ।
घटना थप जानकारी पत्रकार सम्मेलनबाट नै उपलब्ध गराउने धनुषाका एसपी नरहरी रेग्मीले जानकारी दिए।
फागुन १७ गते दिउँसो १ बजे कोठाभित्रै गाडेको अवस्थामा शव फेला परेपनि त्यसभन्दा केही दिन अगावै उनको हत्या भएको थियो।
शव भेटिनुभन्दा अघिल्लो साताको शनिबार नै हरिराम र अञ्जलीबीच विवाद भएको बताइएको छ। भोलिपल्ट आइतवार नै हरिरामले श्रीमती बेपत्ता भएको भन्दै छिमेकमा सुनाएका थिए। मंगलबारदेखि हरिराम पनि बेपत्ता बनिदिए।
एकाएक घरका सबै हराएपछि शंका लागेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीले यो घटनामा अनुसन्धान थालेको थियो।


