नयाँदिल्ली- पाकिस्तानी खुफिया संस्था इन्टर सर्भिस इन्टेलिजेन्स (आईएसआई) को एजेन्ट रहेको आरोपमा दिल्ली प्रहरीले एक नेपाली नागरिकलाई पक्राउ गरेको छ। आईएसआईको एजेन्ट रहेको आरोपमा पक्राउ परेका ती व्यक्तिको नेपाली ठेगाना भने खुलाइएको छैन।
अन्सरुल मियान अन्सारी नामका ती व्यक्ति कतारमा ट्याक्सी चालकको रूपमा काम गरिरहेको बेलामा आईएसआईसँग सम्पर्कमा पुगेको बताइएको छ। पछि पाकिस्तानमा गएर उनले गोप्य तालिम लिएको र त्यसपछि नेपाल हुँदै भारतको दिल्लीमा पठाइएको थियो।
सन् २०२५ को सुरुदेखि नै गरेको अपरेसनपछि ती व्यक्ति पक्राउ परेको बताइएको छ। दिल्ली प्रहरीले हालै अदालतमा अभियोगपत्र दायर गरेपछि यो घटना सार्वजनिक भएको हो।
अन्सरुल मियान अन्सारीलाई पाकिस्तान जान लाग्दा पक्राउ गरिएको थियो। उनी अहिले तिहाड जेलमा बन्दी छन्। उनीसँगै अर्का एक व्यक्ति पनि पक्राउ परेका थिए।
यो घटनाले नेपाली नागरिक पनि विदेशी खुफियाका लागि काम गर्ने गरेको देखाएको भन्दै चासो व्यक्त गर्न थालिएको छ।
दिल्ली प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको बताएको छ।


