काठमाडौँ- नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघको १०औं राष्ट्रिय महाअधिवेशन पोखरामा शुक्रबारदेखि सुरू हुने भएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार मध्याह्न १२ बजे अमरसिंहचौर पोखरामा महाधिवेशन उद्घाटन गर्नेछन्।
महासचिव सुमन पुरीका अनुसार महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। महाधिवेशनमा १ हजार ७ सय ९२ जना प्रतिनिधि हुनेछन्।
विभिन्न पार्टी परित्याग गरी राष्ट्रिय युवा संघमा आएकाहरूलाई पनि ध्यानमा राखेर प्रतिनिधि संख्य बढाउने समझदारी छ। १ हजार ८ सय प्रतिनिधि पुग्न सक्ने युवा संघको भनाइ छ।
महाधिवेशनले ९ पदाधिकारीसहित १५१ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित गर्नेछ। तर एमाले चुवानी प्रतिस्पर्धा नगराउने पक्षमा छ। अध्यक्ष ओली चुनावी प्रतिस्पर्धाका विरोधी मानिन्छन्।
युवासंघ अध्यक्ष क्षितिज थेबेले फेरि पनि दोहोरिन चाहेका छन्। एमाले अध्यक्ष ओलीले पनि थेबेलाई दोहोर्याउने वातावरण बनाउन उनीनिकटका नेताहरूलाई निर्देशन दिइसकेको बताइएको छ। उता हालका महासचिव सुमन पुरी, उपाध्यक्षहरू कृष्णहरि केसी, प्रकाश गौतम र महाराज गुरूङले पनि अध्यक्षमा आकांक्षा देखाएका छन्।
फागुन यता अधिवेशन भएका १० वटा जनसंगठनमा कतै पनि निर्वाचन भएको छैन। सबैलाई सहमतिमा आउन बाध्य पारिएकाले चुनावी प्रतिस्पर्धा नहुने सम्भावना अत्यधिक छ।


