काठमाडौँ- भिजिट भिसामा विदेश जाने नेपालीसँग चर्को रकम घुस लिने आरोपबारे गृह मन्त्रालयको नेतृत्वको कुनै संलग्नता नभएको जिकिर गरेको छ। मन्त्रालयका सहसचिव छवि रिजालले विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यममा कपोलकल्पित, भ्रामक र आधारहीन समाचार आएको आरोप लगाउँदै घुस लेनदेन र सेटिङका विषयमा गृहमन्त्री रमेश लेखकलगायतको संलग्नता नरहेको जिकिर गरेको हो।
‘कपोलकल्पित, भ्रामक र आधारहीन समाचार प्रकाशित र प्रसारित भाएकोप्रति मन्त्रालय दुःख व्यक्त गर्दछ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘कुनै पनि गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौँ।’
यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकाले उसको अनुसन्धानपछि सत्यतथ्य सार्वजनिक हुने मन्त्रालयको भनाइ छ।
‘अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको काम कारवाहीका सम्बन्धमा आयोगले छानबिन गरिरहेको हुँदा अनुसन्धान कार्य पूरा भएपछि सत्यतथ्य व्यहोरा सबैको जानकारीमा आउने नै छ,’ मन्त्रालयको विज्ञप्तिमा लेखिएको छ, ‘आयोगबाट हुने छानबिन तथा अनुसन्धानसम्बन्धी कार्यमा मन्त्रालयको पूर्ण सहयोग रहने व्यहोरासमेत जानकारीका लागि अनुरोध छ।’
भिजिट भिसामा खाडी जाने नेपालीसँग जनही ५० हजार र युरोप जानेसँग ३ लाख रुपैयाँ लिने गरेको र उक्त रकम गृह मन्त्रालयका उच्च अधिकारीसम्म नै बाँडफाँट हुने गरेको आरोप लागेको छ। घुस र कमिसनको चक्करमा गृहमन्त्री नै लागेको भन्दै राजनीतिक तहमा उनले राजीनामा दिनुपर्ने सुझावहरू आइरहेका छन्। गृहमन्त्री लेखककै दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नैतिकताका आधारमा राजीनामा दिन लेखकलाई सुझाव दिइसकेका छन्।


