भरतपुर- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले पार्टीका सभापति रवि लामिछाने पुर्पक्षका लागि थुनामा रहेपनि उनी नै पार्टीको सभापति भएको बताएका छन्।
आज चितवनको कालिका नगरपालिकाको प्रथम अधिवेशन उद्घाटन समारोहमा उनले यस्तो बताएका हुन्। ‘आगामी दिनमा बहुमत ल्याएर उहाँलाई नै प्रधानमन्त्री बनाउने सङ्कल्प गरिएको छ,’ वाग्लेले भने।
लामिछानेलाई पुर्पक्षका लागि थुनामा नै राख्नुपर्ने उच्च अदालतको आदेशलाई सदर गरपनि रविका निम्ति कानुनी र राजनीतिक लडाइँ लड्ने उनले बताए।
‘हिजो सर्वोच्चबाट अप्रिय निर्णय आएको छ, हामी धैर्यधारण गरेर शक्ति आर्जन गर्दै अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘विधिको शासनमा विश्वास गर्ने भएकाले अमर्यादित टीकाटिप्पणी नगरी राजनीतिक रूपमा लडाइँको मैदानमा अगाडि बढ्ने सङ्कल्प गर्छाैं।’
उपसभापति वाग्लेले सभापति लामिछानेको मुद्दा राजनीतिक भएको जिकिर गर्दै आगामी दिनमा पार्टीले नयाँ रणनीति बनाएर अघि बढ्ने बताए।
‘केन्द्रीय समितिको बैठक आइतबार बस्दैछ। संसद् र सभाहरूमा कसरी अगाडि बढ्ने भन्नेबारे निर्णय गरेर विधिवत् रूपमा अगाडि बढ्छौँ,’ उनले भने।


