काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफूले हालै सम्पन्न गरेको पाँच दिने जापान भ्रमण उपलब्धिमूलक रहेको बताएकी छन्।
जापान भ्रमण पूरा गरी शनिबार राति स्वदेश फर्किएपछि उनले आफ्नो भ्रमणका क्रममा जापानका विदेश मन्त्रीसहित विभिन्न महत्त्वपूर्ण भेटवार्ता भएका तथा नेपाल जापान सहयोग एवं विभिन्न परियोजनाका बारेमा कुराकानी भएको जानकारी दिएको मन्त्री देउवाको सचिवालयले पठाएको प्रेस नोटमा उल्लेख छ।
, ‘यस भ्रमणका क्रममा नेपाल जापान सम्बन्धका विविध विषयहरूका साथै नेपालमा जापानको सहयोग र परियोजनाहरूका बारेमा कुराकानी भयो। त्यस्तै सम्मेलनमा ज्येष्ठ नागरिकहरूका सम्बन्धमा अन्य देशहरूले अपनाएका नीति, त्यहाँका अवस्था तथा व्यवस्थाहरूका बारेमा पनि जान्ने मौका मिल्यो ‘ उनले भनिन्।
परराष्ट्रमन्त्री राणा र जापानका विदेशमन्त्री इवाया ताकेसीबीच जेठ ८ गते टोकियोमा द्विपक्षीय भेटवार्ता भएको थियो। त्यस भेटका अवसरमा नेपाल जापान द्विपक्षीय सम्बन्ध, आपसी हित र साझा चासोका विविध विषयमा कुराकानी भएको उनले जानकारी दिइन्।
त्यसैगरी मन्त्री राणाले जेठ ९ गते जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी, जाइकाका अध्यक्ष डा. तानाका अकिहिकोसँग पनि भेटवार्ता गरेकी थिइन्। सो भेटमा मन्त्री राणाले नेपालको आर्थिक, सामाजिक लगायतका विविध क्षेत्रमा विगत लामो समयदेखि जाइकामार्फत् जापान सरकारले पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै जाइकाको सहयोगमा नेपालमा सञ्चालित र सम्पन्न परियोजनाहरूका बारेमा कुराकानी गरेकी थिइन्।


