काठमाडौँ- चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहको प्रदर्शन हिंसात्मक बनाएको आरोपमा ६१ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।
नेपाल प्रहरीले १०८ जनालाई मुद्दा चलाउन सिफारिस गरेको भएपनि ३४ जनालाई मुद्दा चलाउन नपर्ने ठहर सरकारी वकिलको कार्यालय काठमाडौँले गरेपछि ६१ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो। केही आरोपितलाई दोहोरो/तेहोरो मुद्दा पनि चलाइएको छ।
४ नाबालकलाई बाल अदालतमा मुद्दा चलाउने तयारी गरिएको छ।
प्रहरीले सिफारिस गरेका १०८ जनामध्ये ९० जना पक्राउ परेका थिए भने १८ जना फरार थिए। उनीहरुविरुद्ध राज्यविरुद्धको कसुर, अपराधिक उपद्रव, संगठित अपराध र कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा लगिएको हो।
दुर्गा प्रसाईंलाई कर्तव्य ज्यानको कसुरमा समेत मुद्दा चलाइने भएको छ।
आइतबार जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयका सूचना अधिकारी चन्द्रप्रसाद सञ्जेलले बताए।
यो प्रकरणमा पक्राउ परेका राप्रपा नेता धवलशमशेर राणा, रवीन्द्र मिश्रलगायत हाजिर जमानतमा छुटिसकेका छन्।
१५ जेठमा राजावादी समूहले गरेको प्रदर्शनले हिंसात्मक रुप लिँदा २ जनाको मृत्यु भएको थियो भने २० जनालाई प्रहरीको गोली लागेको थियो। दर्जनौं घाइते भएका थिए।
घटनास्थलबाट भागेका प्रदर्शनका ‘जनकमाण्डर’ दुर्गा प्रसाईंलाई प्रहरीले भारतको आसाममा पक्राउ गरेर ल्याएको थियो।


