काठमाडौँः तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई बलात्कार आरोप लगाएकी पात्र रोशनी शाही आफ्नै डेरामा मृत फेला परेकी छिन्। महरालाई बलात्कारको आरोप लगाउँदै कारागारसम्म पुर्याउने आइतबार भक्तपुरको सूर्यविनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गमा रहेको डेरामा मृत फेला परेको प्रहरीको भनाइ छ।
कोठा भित्रैबाट बन्द गरेको अवस्थामा घरधनीले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले ढोका फोडेर हेर्दा उनी कोठाभित्रै घोप्टो परेको अवस्थामा मृत फेला परेकी हुन्। उनको शरीरमा अन्य चोट देखिएको छैन।
२०७६ असोजमा संसद सचिवालयमा कार्यरत राेशनीले आफूमाथि बलात्कार प्रयास गरेको आरोप लगाएकी थिइन्। महराले मादक पदार्थ सेवन गरेर आफू बसोबास गरिरहेको कोठामा आएर जबरजस्ती गर्न खोजेको उनको आरोप थियो। घटना सार्वजनिक भएपछि उनले सभामुख पदबाट राजीनामा दिनुपरेको थियो भने लगत्तै पक्राउ परेका थिए।
अदालती बयानक्रममा पीडितले आफ्नो प्रारम्भिक आरोप फेरेपछि महरा जोडिएको मुद्धा कमजोर बनेको थियो।
आफ्नै कोठामा मृत फेला परेकी शाहीको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।


