काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रमेश लेखकले पद छाडेर अनुसन्धानलाई सघाउनुपर्ने बताएका छन्।
नेपाली कांग्रेसको धरान उपमहानगर सम्मेलनमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।
अनुसन्धानको दायरामा आएको व्यक्ति पदमा रहिरहने विषय राजनीतिक नैतिकता र वैधताको सवाल बन्न जाने भएकाले गृहमन्त्रीले राजीनामा दिनुपर्ने उल्लेख गरेका हुन्।
‘अनुसन्धान गृहमन्त्रीसम्म पुग्छ भने अनुसन्धानको दायरामा आएको व्यक्ति पदमा रहिरहने विषय वैधानिक नभई राजनीतिक नैतिकता र वैधताको सवाल बन्न जान्छ। त्यस्तो अवस्थामा भने मन्त्रीको जिम्मेवारीबाट अलग भएर अनुसन्धानलाई सहयोग गर्ने कुरा वाञ्छनीय हुन्छ र उहाँले यसो नै गर्नुहुन्छ भन्ने पनि मलाइ उत्तिकै विश्वास छ,’ उनले भने।
राज्यका अधिकारीहरूकै मिलेमतोमा भिजिट भिसामा जाने नेपालीहरूमाथि हुने गरेका ठगी र घुस असुलीका हर्कतहरू गैह्रकानूनी र अमानवीय भएको उल्लेख गरे।
‘यस्तो कुकृत्यमा संलग्न जोसुकै होस्, जुनसुकै पद, तह र तप्काको होस्, राजनीतिक नेतृत्व होस् वा प्रशासनिक होस्, पर्दा अगाडिको होस् वा पछाडिको होस् सबै कारवाहीको दायरामा ल्याउनैपर्छ। कोही पनि उम्कन हुँदैन, उम्कन पाउँदैन’, थापाले भनेका छन्।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख लगायतमाथि अख्तियार दूरुपयोग अनुसन्धान आयोगले अघि बढाएको छानबीन कुनै शक्तिको दबाबमा रोकिनु नहुनेमा उनको जोड छ ।
‘कुनै शक्तिको भक्ति नगरी निर्भीक भएर तथा भिडको दबाव वा प्रभावमा नपरी निष्पक्ष ढङ्गले अख्तियारले अनुसन्धानलाई अगाडि बढाउनुपर्छ । कुनै अलमलमा नपरिकन यसको गहिराइसम्म पुग्नुपर्छ । जो जो परोस् जहाँ सम्म पुगोस् यसका जरा, हाँगा बिंगा सबै खोज्नुपर्छ’, उनाले भने।


