काठमाडौँ- इट्ट भट्टामा हाली व्यक्ति हत्याको आरोपमा जिल्ला अदालतले दोषी ठहर गरेका अफताव आलमलाई उच्च अदालतले सफाइ दिएको छ।
कांग्रेसका पूर्वसांसदसमेत रहेका आलमलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले सफाइ दिएको हो।
न्यायाधीशद्वय डा श्री खुशीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले जिल्लाको फैसला उल्टी हुने निर्णय सुनाएको हो।
जिल्ला अदालत रौतहटले उनलाई व्यक्ति हत्याको आरोपमा दोषी ठहर गरेको थियो।
उनलाई जन्मकैदको फैसला गरेको थियो।
राजपुर बम बिस्फोटको घटनामा घाइतेहरुलाई जिउँदै जलाएको र हत्या गरेको आरोप उनीमाथि लागेको थियो।
संविधान सभाको निर्वाचनको अघिल्लो राति २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित इँटा भट्टामा पोलेर व्यक्ति हत्या गरेको आरोपमा उनी दोषी ठहर भएका थिए ।
घटनाको १२ वर्षपछि रौतहट प्रहरीले आलमलाई १९ असोज २०७६ मा पक्राउ गरेको थियो ।
आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित घाइतेहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप आलममाथि थियो।
यस्तो छ आलमलाई सफाइ दिएको उच्चको आदेश :
मिति ०६४/१२/२७ मा बम विस्फोटको घटना भएको भनिएकोमा सो वारदात अनुसन्धानबाट पुष्टि हुन नसकेको। सो विषयमा जाहेरी गरी अनुसन्धान भई मारिएका भनिएका व्यक्तिहरू मृत्यु भएका भन्ने यकिन साथ पुष्टि हुन नसकेको भनी महान्यायाधिवक्ता कार्यालयबाट मिति ०६५/३/३० मा यसै कसैउपर मुद्दा नचलाउने भनी निर्णय भएको देखियो। सम्मानीत सर्वोच्च अदालतबाट उक्त मिति ०६५ ३ ३० को उक्त निर्णय बदर गरी पुनः प्रमाणित देखि प्रचलित कानुन बमोजिम गर्न गराउन मिति ०६९/२/१६ मा परमादेश जारी भइ ०७६/१२/११ मा पुन अनुसन्धान भएको देखिन्छ।
संकलित सबुत प्रमाणबाट मोहम्मद अफताब आलमको घरमा मिति ०६४/१२/२७ मा बम विस्फोट वस्तुनिष्ट प्रमाणले पुष्टि हुन नसकेको। विष्फोटका घाइते भनिएका पिन्टु भनिने त्रिलोकप्रकाश सिंह र ओसी अफताबलाई ट्याक्टरमा हाली राजा इट्टाभट्टामा हाली पोलिएको भन्ने ठोस सबुत प्रमाण वादीले पेस गर्न नसकेको र विधि विज्ञान परीक्षण प्रतिवेदनसमेत मृतकहरूलाई इट्टाभट्टामा पोलिएको अभियोग दाबी पुष्टि हुन नसकेको अवस्थामा सुरुले गरेको सजाय नमिलेको देखिँदा उल्टी भई सफाइ पाउनू।


