काठमाडौँ- गैरआवासीय नेपाली संघ (एनआरएन) ले नेपाल सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को बजेटको स्वागत गरेको छ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार पेस गरेको बजेटलाई एनआरएनए आईसीसीले स्वागत गरेको हो। बजेटमा नेपालको पुँजीबजारको दोस्रो बजारमा कारोबार गर्न एनआरएनएले पनि पाउने व्यवस्था गरिने उल्लेख छ।
‘बजेटमा गैरआवासीय नेपालीहरूलाई नेपालको धितो पत्रको दोस्रो बजारमा कारोबार गर्न अनुमति दिने व्यवस्थाले विदेशमा बस्ने नेपाली मूलका व्यक्तिहरू र गैर आवासीय नेपाली नागरिकहरूलाई नेपालको पुँजी बजारमा सहभागी हुने अवसर प्रदान गरेको छ। यो व्यवस्थाले विदेशमा रहेका नेपालीहरूको पुँजी नेपालको आर्थिक विकासमा भित्र्याउन र शेयर बजारको गतिशीलता बढाउन महत्त्वपूर्ण योगदान पुग्ने हाम्रो विश्वास छ,’ संघका महासचिव बी आर लामाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
यो नीतिले बैङ्किङ, पर्यटन, जलविद्युत्, र अन्य क्षेत्रमा लगानी विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको र नेपालको पुँजी बजारमा तरलता र आर्थिक स्थायित्व कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास एनआरएनएको छ।
‘बजेटमा उल्लेखित यो व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि एनआरएनएको वर्तमान नेतृत्व नेपाल सरकारसँग सहकार्य गर्न तयार रहेको जानकारी गराउँछौँ,” विज्ञप्तिमा उल्लेख छ, ‘बजेटमा विदेशमा रहेका नेपाली नागरिकको हित संरक्षणका लागि प्रभावकारी कूटनीतिक पहल, गैर आवासीय नेपालीहरूको ज्ञान, सीप, पुँजी, प्रविधि, र सञ्जाललाई राष्ट्रिय विकासमा उपयोग गर्ने तथा सङ्कटमा परेका नेपालीहरूको उद्धारको व्यवस्था गर्ने जस्ता सकारात्मक प्रावधानहरू समावेश गरिएकोमा हामी प्रशंसा गर्दछौँ।’
गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन, नेपाली सरह एनआरएनहरूलाई नेपालमा लगानी गर्न दिने व्यवस्था, श्रमिकहरूको सम्मान, बिमा र सुरक्षा लगायतका केही महत्त्वपूर्ण मुद्दाहरू अझै सम्बोधन हुन बाँकी रहेको एनआरएनएको भनाइ छ।


