काठमाडौँ- गृहमन्त्री रमेश लेखकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान प्रक्रिया नै प्रभावित गर्ने कसरत गरेका छन्। भिजिट भिसा प्रकरणमा चर्को घुस रकम गरेको आरोपमा गृहमन्त्री नै संलग्न रहेको आरोप लागेको र उक्त प्रकरणमा आयोगले अनुसन्धान जारी राखेको बेला गृहमन्त्रीले उक्त प्रयास गरिरहेको सार्वजनिक भएको हो।
भिजिट भिसामा जाने नेपालीसँग चर्को रकम असुली गर्ने प्रकरणमा आफूमाथिसमेत अनुसन्धान हुन सक्ने देखेपछि अख्तियारका अनुसन्धान अधिकारीकै उनले सरुवा गरेका हुन्। भिजिट भिसा प्रकरणमा नेपाल प्रहरीबाट गएका डीआईजी हिमालय श्रेष्ठले अनुसन्धान गरिरहेका थिए। तर उनकै सरुवा गृहमन्त्रीले मंगलवार गरेका थिए। यद्यपि उनको उक्त प्रयास भने विफल भएको छ।
अख्तियार प्रमुखको पूर्वस्वीकृति बिना आफ्नो निकायको अनुसन्धान प्रभावित गर्ने कोसिस भएको भन्दै अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले आपत्ति जनाएपछि गृहमन्त्री ब्याक हटेका छन्। डीआईजी श्रेष्ठ आफूमाथिको अनुसन्धानमा संलग्न भएको सूचना पाएपछि गृहमन्त्रीले सरुवाको निर्णय गराएका थिए।
तर त्यसको केही समयमा नै गृहमन्त्रीले उक्त निर्णय फिर्ता लिएका हुन्। प्रहरीको मानवस्रोत विकास विभागले शुक्रवार विज्ञप्ति जारी गरी श्रेष्ठलाई पुनः अख्तियारमै पदस्थापन गरिएको जानकारी दिएको छ। शुक्रवार नै अख्तियारकै डीआईजी ओमबहादुर रानालाई रानीपोखरी सरुवा गरिएको छ।


