झापा- गए रातिदेखिको अविरल वर्षापछि आएको बाढीले झापाको मेचीनगर क्षेत्रमा निर्माणाधीन एसियन हाइवे (पूर्वपश्चिम राजमार्ग) अन्तर्गतका तीनवटा डाइभर्सन बगाएपछि आज बिहानदेखि यातायात अवरुद्ध भएको छ।
काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) का आयोजना प्रमुख इञ्जिनियर सुनिलबाबु पन्तले जानकारी दिँदै बाढीले मेचीनगरस्थित कालीखोला, धुलाबारीको ढुकुरे खोला र चारआलीको ‘एनिमल अन्डरपास’ क्षेत्रमा बनाइएको डाइभर्सन बगाएको बताए।
बाढीले डाइभर्सन बगाएपछि आज बिहानदेखि राजमार्गमा सवारी आवागमन रोकिएको हो। तर बिहान ११ बजेसम्ममा कालीखोला र ढुकुरे खोलाको डाइभर्सन मर्मत गरी गाडी चल्न सक्ने बनाएको जानकारी पनि उनले दिए।
‘एनिमल अन्डरपासको डाइभर्सनमा अहिले मर्मतको काम धमाधम भइरहेको छ,’ उनले भने, ‘कालीखोला र धुलाबारीका डाइभर्सन भने मर्मत गरिसकेका छौं, अहिले डाइभर्सनमाथिबाटै सवारी चल्न थालेका छन्।’
कालीखोलामा अहिले पुरानो पक्की पुल भत्काएर नयाँ पुल निर्माण भइरहेको रहेछ भने ढुकुरे खोलामा पुरानो कल्भर्ट हटाएर नयाँ कल्भर्ट बनाउने काम भइरहेको रहेछ। चारआलीको जङ्गल क्षेत्रमा वन्यजन्तु ओहोरदोहोर गर्न सक्ने ‘एनिमल अन्डरपास’ निर्माणाधीन अवस्थामा रहेको जानकारी पनि उनले दिए।
तीनै स्थानमा अस्थायी साँघुरा डाइभर्सनमार्फत सवारी सञ्चालन हुँदै आएकोमा बाढीले ती संरचना बगाएपछि ट्राफिक प्रहरीले वैकल्पिक सहायक सडक प्रयोग गरेर सवारी व्यवस्था मिलाएको रहेछ।
आयोजना प्रमुख पन्तका अनुसार मनसुनी वर्षा अनुमानभन्दा करिब १५ दिनअघि सुरु भएकाले बलियो डाइभर्सन बनाउन समय मिल्न सकेन। ‘हामीले निर्माण कम्पनीलाई पहिले नै ठोस डाइभर्सन बनाउनु भनेर निर्देशन दिँदै आएका थियौं,’ उनले भने, ‘तर, वर्षा सोचेजस्तो नभई छिट्टै सुरु भयो र ठूलो पानी पर्यो, जसले गर्दा डाइभर्सन समयमै मजबुत बनाउन सकिएन।’
उनका अनुसार आजभित्र सबै ठाउँमा सवारी सञ्चालन सुचारु हुने गरी मर्मत गरिँदैछ र आगामी १५ दिनभित्र सबै कल्भर्टमाथि दुई लेनबाट गाडी चल्ने व्यवस्था गरिनेछ। कालीखोला र भालुखोलामा पुराना पक्की पुल हटाइएकाले ती ठाउँमा तीन तहको ह्यूमपाइप राखेर बलियो डाइभर्सन बनाइने योजना रहेको पनि उनले जानकारी दिए।
एसियाली विकास बैंकको सहयोगमा रु १० अर्बको लगानीमा एसियन हाइवेको पूर्वी खण्डको स्तरोन्नतिको काम भइरहेको छ, जसको जिम्मा एभ्रास्कन–कालिका जेभीले लिएको हो।
यसै सन्दर्भमा नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले केही दिनअघि नै राजमार्ग स्तरोन्नतिमा ढिलासुस्ती भइरहेकाले बर्खामा बाढीजन्य विपद् आउन सक्ने चेतावनी दिएका थिए।
योजना प्रमुख पन्तले वर्षात्को समयमा राजमार्गमा समस्या आएमा र्यापिड रेस्पोन्स टोलीमार्फत तत्काल समाधान गर्ने तयारी रहेको पनि जानकारी दिए।


