काठमाडौँ- सार्वजनिक यातायात क्षेत्रको संरक्षण र व्यवस्थापनका लागि सरकारले चालेका केही कदमप्रति आपत्ति जनाउँदै सार्वजनिक यातायात व्यवसायीहरू पुनः आन्दोलनमा उत्रिएका छन्।
सार्वजनिक यातायात बचाउ केन्द्रीय महासंघ तथा मजदुर संघ/संगठनहरूको केन्द्रीय संघर्ष समितिले आज राजधानीको चक्रपथ र भक्तपुर मुख्य सडक खण्डमा एक घण्टा चक्काजाम गरेका छन्।
संघर्ष समितिका अनुसार आज बिहान ११:३० बजे देखि १२: ३० बजे सम्म २७ किलोमिटर चक्रपथ क्षेत्र र भक्तपुरको मुख्य सडक खण्डमा ट्याक्सी, बस, ट्रकलगायतका सवारी साधनहरू लाइनबद्ध पारेर चक्काजाम गरिएको हो।
समितिले आगामी १८ जेठमा माइतीघर मण्डलामा देशभरका सार्वजनिक यातायात व्यवसायीको सहभागितामा बृहत विरोध प्रदर्शन गर्ने चेतावनी दिएको छ।
सार्वजनिक सवारी ऐन २०४९ को परिशिष्ट २ को दफा ५ र दफा २२ को १२ विपरीत गण्डकी प्रदेश सरकारले २०८२ जेठ १ गते प्रकाशित राजपत्रमार्फत निजी सवारी साधनलाई कालो नम्बर प्लेटमा भाडामा चलाउने अनुमति दिएकोमा संघर्ष समितिले आपत्ति जनाएको छ। समितिले यस कदमलाई सार्वजनिक यातायात क्षेत्रको विनाश गर्ने षड्यन्त्रको संज्ञा दिएको छ।
संघर्ष समितिले १६ जेठमा ६ वटै प्रदेशमा कार्यालय बन्द गर्दै विरोध र्याली आयोजना गर्ने कार्यक्रम रहेको जनाएको छ। साथै, सरकार संवेदनशील नभए १९ जेठदेखि देशव्यापी आमहड्ताल गर्दै सबै सार्वजनिक सवारी साधन ग्यारेजमा थन्काउने चेतावनीसमेत समितिले दिएको छ।
तस्बिर: नेपाल फोटो लाइब्रेरी


