काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र हल्लिँदा सबैभन्दा बढी चिन्ता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पर्नु स्वाभाविक भएको बताएका छन्।
शनिबार राजधानीमा राजसंस्था पुनःस्थापनाको मागसहित भएको आन्दोलनको क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै लिङ्देनले प्रचण्डको पछिल्ला टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन्।
‘गणतन्त्र हल्लिँदा सबैभन्दा ठूलो पीर उहाँलाई पर्नु स्वाभाविक हो,’ लिङ्देनले भने, ‘त्यसैले पीर परेको बेलामा के के बर्बराउनुहुन्छ, त्यसलाई अन्यथा मान्दिनँ।’
यसअघि आजै प्रचण्डले राजधानीमा राजसंस्थाको पक्षमा देखिएको चहलपहलप्रति संकेत गर्दै पैसा दिएर, भोज खुवाएर मानिसहरूलाई काठमाडौंमा ल्याइएको आरोप लगाएका थिए।
प्रचण्डको उक्त आरोपबारे लिङ्देनले भने, ‘उनीहरूले आफैं प्रदर्शन गर्न टाढा–टाढाबाट मान्छे ल्याउँथे, पार्टी प्यालेसमा भोज खुवाउँथे, पैसा बाँड्थे। शायद उहाँले आफ्नो अनुभव सुनाउनुभएको हो, त्यसमा मेरो कुनै टिप्पणी छैन।’
लिङ्देनले आजको आन्दोलनमा उल्लेख्य जनसहभागिता रहेको दाबी गर्दै यही प्रकारको समर्थन आगामी दिनमा पनि जुट्ने हो भने सरकारलाई झुक्न बाध्य पार्ने चेतावनी दिए।
‘यसरी नै जनसमर्थन जुट्यो भने हामीले सरकारलाई झुक्न बाध्य बनाउँछौं,’ उनले भने, ‘जनसमर्थन आवश्यकता अनुसार पुगेन भने फेरि अर्कोचोटि प्रयास गर्छौं, निरन्तर लागिरहन्छौं।’


