काठमाडौँ- माओवादी अध्यक्ष पुष्पकमल दाहाल अध्यक्षलाई प्रश्न सोधेको कारण पछिल्ला दुई दिनमा दुई जनालाई माओवादी कार्यकर्ताले कुटपिट गरेका छन्। माओवादीका कार्यक्रममा पुगेर प्रश्न सोध्नेलाई पार्टी निकट वाईसीएलका नेता तथा कार्यकर्ताहरूले पिट्न थालेका हुन्।
आइतवार प्रज्ञा भवनमा आयोजित वाईसीएलको कार्यक्रममा रिपोर्टिङका लागि पुगेका एनपीएल प्रेसका पत्रकार सुरजमाथि माओवादीका कार्यकर्ताले कोठामा थुनेर निर्घात कुटपिट गरेका हुन्।
प्रचण्ड गाडीबाट झरेर हलभित्र जाने क्रममा सुरजले प्रश्न सोध्ने प्रयास गरेका थिए। तर, प्रचण्डले उनीमाथि गाली गरे। यसपछि वाइसीएलहरैले आफूलाई झ्यापझुप पारेर कोठामा थुनेको कुटेको सुरजको भनाइ छ। माओवादीका कार्यकर्ताले मोबाइल पनि खोसेर लगेको उनको भनाइ छ। वाईसीएल कार्यकर्ताबाट भागेर आफूले केएमसी अस्पतालमा उपचार गराएको उनको भनाइ छ।
शनिवार मात्रै नुवाकोटको एक विद्यालयको कार्यक्रममा प्रचण्डलाई प्रश्न सोध्न खोजेका युवक जनार्दन अधिकारीमाथि माओवादी कार्यकर्ताले हातपात गरेका थिए। उक्त विषयमा प्रचण्डले आइतवार आफैँ आफूहरूविरुद्ध आइलाग्नेमाथि जाइलागिने चेतावनी दिएका छन्। त्यसरी प्रतिवाद नगरे आफूहरू माओवादी र वाईसीएल हुन नसक्ने उनको भनाइ छ।
के भन्छन् प्रचण्ड?
म हिजो (शनिवार) को मात्रै एउटा घटना नुवाकोटको सुनाउँछु। म यसरी नै बोल्दै थिएँ। एउटा राजावादी अराजक मान्छे रहेछ। मैले बोल्दा बोल्दै म प्रश्न गर्छु प्रश्न गर्छु भन्यो। के तालको मान्छे रहेछ! मैले सोचेँ- यहाँ त म बोल्दैछु। कार्यक्रम समापन गर्दैछु। एउटा मान्छे बडो आक्रोशपूर्ण मुद्रामा मैले प्रश्न गर्न चाहन्छु भन्छ! मैले त्यतिबेला राजावादीहरुको वैचारिक, राजनीतिक र तथ्यगत खण्डन, आलोचना भण्डाफोर गर्दै थिएँ। उसलाई सहि सक्नु भएनछ। उसले त काठमाडौँको जुलुस देख्या होला। त्यसो भएर उसको अलिकति बढ्या होला।
मैले यो प्रश्नउत्तर कार्यक्रम होइन, बिहान पत्रकार सम्मेलन थियो। त्यहीँ सोध्या भए हुन्थ्यो, जति सोधे पनि। यो प्रश्न उत्तर होइन भन्दा पनि उफ्री राखेपछि त्यहाँ जनताले नै, हामीले होइन, जनताले नै उसलाई राम्रै प्रतिवाद गरे। राम्रै। उसलाई जीवनभर पुग्ने गरी, प्रतिवाद जीवनभरि नबिर्सिने गरी। यदि कोही आइलाग्छ, हाम्राविरुद्ध भने आइलाग्छ भने त हामीले त्यसको त प्रतिवाद गर्नै पर्छ। नत्र हामी वाइसएल कसरी भइयो त? क्रान्तिकारी कसरी भइयो त?
राजावादीहरुले कताकताबाट पैसा ल्याएका छन्। पैसा त उनीहरुले थुपारेकै होलान्। त्यही पैसाको बलमा भाडाका मान्छे ल्याउने, छाडा बनाउने, जाँड खुवाउने, उफार्ने गरेको मैले देखिराखेको छु। तपाईहरुले देखिराख्नु भएको छ। त्यसकारण म के भन्न चाहन्छु भने हामी जाईलाग्ने चै होइन, उनीहरुको सभामा उनीहरुको आन्दोलनमा हामीले गएर आक्रमण गर्ने भन्न मैले खोजेको छैन, बुझ्नु होला। तर उनीहरु छाडा भाछन्। छाडा भएर हामीमाथि आक्रमण गर्ने कोसिस गर्दै छन्। यदि उनीहरु आइलाग्छन् भने त्यसको इँटको जवाफ पत्थरले दिने गरी तयारी गर्नूस्। गर्नै पर्छ।


