२०८३ कार्तिक २६ गते बुधबार

मौरिस हर्जोगले यसरी चिनाएका थिए अन्नपूर्ण हिमाल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ १९
Annapurna-scaled-e1748832344264

म्याग्दी- ७५ वर्षअघि फ्रान्सका मौरिस हर्जोग नेतृत्वको टोलीले गरेको अन्नपूर्ण हिमालको कीर्तिमान आरोहणले नेपालको पर्वतारोहणको सम्भावनालाई अन्तराष्ट्रिय क्षेत्रमा उजागर गरिदिएको थियो। सन् १९५० जुन ३ मा मौरिस र लुईस लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि सगरमाथाको सफल आरोहण भएको थियो। हर्जोग र लचेनलले आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलोपटक सफल आरोहण गरेर कीर्तिमान बनाएपछि फ्रान्सले तीन दिन राष्ट्रिय उत्सव मनाएको थियो।

आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख मणिराज लामिछानेले बताए। ‘मौरिसले अन्नपूर्ण आरोहणको अनुभव समेटेर लेखेको पुस्तकले नेपालको पर्वतारोहण पर्यटनलाई विश्व बजारमा उजागर गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ’, उनले भने, ‘अन्नपूर्ण रेञ्जका हिमाल हेर्न र चक्रिय अन्नपूर्ण पदमार्ग भ्रमणका लागि आउने पर्यटकका कारण पोखरा र गण्डकी प्रदेशलाई मात्र नभई देशलाई नै फाइदा पुगेको छ। ‘

प्रमुख लामिछानेका अनुसार मौरिस हर्जोग, अन्नपूर्ण रेञ्जका हिमाल, पोखरा, गण्डकी प्रदेश र नेपालको पर्यटन क्षेत्रको अन्तरसम्बन्ध छ। मौरिसले लेखेको ‘अन्नपूर्णमा पहिलो पाइला’ नामको पुस्तक २० करोडप्रति बिक्री भएको पर्यटन व्यवसायीहरुको भनाइ छ। जुन पुस्तक विश्वमा धेरैप्रति बिक्री हुनेमध्येमा पर्ने ट्रेकिङ एजेन्सिज एशोसिएशन (टान) गण्डकीका उपाध्यक्ष कृष्ण आचार्यले बताए।

‘हामीले अन्नपूर्ण हिमाल आरोहण गरेपछि फ्रान्सेलीहरू आठ हजार मिटरभन्दा अग्लो हिमालमा गए’, हर्जोगले आफ्नो पुस्तकमै लेखेका छन्, ‘हिमालमा फ्रान्सेली झण्डा फहराएपछि ती त्यत्रा हिमाल कसरी चढे, उनीहरू को हुनरु भनेर हल्लीखल्ली मच्चियो। संसारभरिका मानिसको आँखा खुल्यो। ‘

एकतीस वर्षको उमेरमा अन्नपूर्ण आरोहणको क्रममा उनको दुवै हात र दुवै खुट्टा हिउँले खाइदिएपछि शेर्पाहरूले हिमालबाटै बोकेर आधार शिविर झारेका थिए। फ्रान्सको लियोन सहरमा १५ जनवरी १९१९ मा जन्मिएका हर्जोगको १३ डिसेम्बर २०१२ मा ९३ वर्षको उमेरमा निधन भएको थियो।

भारतको नयाँदिल्लीमा सामान्य उपचार गरेर जन्मथलो फर्किएका उनले फ्रान्समा पनि राम्रो उपचार नभएपछि अमेरिका पुगेर कृत्रिम हातखुट्टा राखेका थिए। तत्कालीन प्रधानमन्त्री मोहन शमशेरले हर्जोगलाई पत्र पठाएर निमन्त्रणा गरेका थिए। हर्जोगसँगै आरोहण यात्रामा रहेका लुइस र चिकित्सक मार्सेलोसहितको टोलीले मोहन शमशेरलाई भेट गरेको थियो। तत्कालीन सरकारले काठमाडौँमा समारोह आयोजना गरेर हर्गोजलाई गोरखा क्रस पदक प्रदान गरी सम्मान गरेको थियो। हर्जोगले प्राप्त गरेको पदक नेपाल सरकारबाट विदेशी नागरिकले प्राप्त गरेको उच्च तहको सम्मान हो।

हिमाल चढेर विश्व इतिहास बनाएकै कारण फ्रान्स सरकारले उहाँलाई झण्डै एक दशकसम्म खेलकुदमन्त्री, सांसद र समोनी सहरको मेयर चुनेको थियो। हर्जोगले आफ्नो पुस्तकमा ‘हिमाल चढ्दा के हुन्छ, के हुँदैन’ भनी अविवाहित बसेको र अन्नपूर्ण चढेपछि बिहे गरेको उल्लेख गरेका छन्।

हर्जोगको टोली अन्नपूर्ण चढ्न दुई सय ५० जना भरिया लिएर अन्नपूर्ण आधार शिविर पुगेको थियो। पर्यटन विभागका अनुसार हालसम्म पाँच सय ३२ जनाले अन्नपूर्ण आरोहण गरेका छन्।

प्रथम आरोहीको नाममा पदमार्ग
नारच्याङका तेज गुरुङको अगुवाइमा विसं २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो। सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले विसं २०७७ मा ‘मौरिस हर्जोग’ नामकरण गरेको थियो।

पदमार्गको प्रवेशबिन्दुमा पर्ने नारच्याङमा आएका हर्जोगले आरोहणका समयमा प्रयोग गरेको बाटो र आधार शिविरको बारेमा जानकारी गराएपछि स्थानीयवासीहरुको टोलीले पदमार्गको खोज अनुसन्धान गरेको अगुवा गुरुङले बताए।

‘दुई दशक अघिसम्म अन्नपूर्ण आधार शिविर म्याग्दीको भूगोलमा पर्ने तथ्य र त्यहाँ जाने पदमार्गको पहिचान भएको थिएन,’ उनले भने, ‘पदमार्ग पहिचान, पूर्वाधार निर्माण र प्रवर्द्धनका कार्यक्रम गरेपछि पछिल्लो दुई वर्षयता अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्ग गुल्जार बनेको छ। ‘

कास्की र म्याग्दीका दुईवटा स्थानीय तहको नामकरण अन्नपूर्ण हिमालबाट गरिएको छ। अन्नपूर्ण हिमाललाई फन्को लगाउने अन्नपूर्ण चक्रीय पदमार्ग विश्वको प्रसिद्ध पदमार्ग मानिन्छ। हर्गोजले इतिहास रचेको अन्नपूर्ण आधार शिविर र उनले प्रयोग गरेको पदमार्गको पहिचान, पूर्वाधार निर्माण र प्रवर्द्धन गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गरिएको छ।

नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूत स्तरको २२ किलोमिटर पदमार्ग तयार भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए। दुई दिनको पैदलयात्रामा पुगिने अन्नपूूर्ण आधार शिविर पर्यटकका लागि ‘भर्जिन’ गन्तव्य हो।

अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ।

पदमार्गको स्तरोन्नति, खोलामा झोलुङ्गे पुल निर्माण, आश्रयस्थलको क्षमता विस्तार, खानेपानी, शौचालय, सञ्चार, विद्युत् सुविधा र सुरक्षाको व्यवस्थापनका लागि गाउँपालिकाले एकीकृत गुरुयोजना तयार पारेर पूर्वाधार निर्माण थालेको अध्यक्ष पुनले बताए।

अन्नपूर्ण आरोहणको हीरक जयन्ती
हरेक वर्ष नेपाल र विश्वभर विविध कार्यक्रम गरेर अन्नपूर्ण आरोहण भएको दिनको सम्झना गरिन्छ। अन्नपूर्ण आरोहणको ७५ वर्षपछि पहिलो पटक सम्बन्धित भूगोलमा विविध कार्यक्रमका साथै हीरक महोत्सव मनाउन थालिएको अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर पुनले बताए।

उनका अनुसार काठमाडौँ र पोखरामा कार्यक्रम गरेर अन्नपूर्ण आरोहण दिवस मनाउने गरिएको थियो। अन्नपूर्ण गाउँपालिका, नेपाल पर्यटन वोर्ड, नेपाल पर्वतारोहण संघ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० को आयोजना र अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समिति सहआयोजक भएर महोत्सव गर्न लागिएको हो।

हीरक जयन्तीको अवसरमा आइतबारदेखि नारच्याङ गाउँदेखि आधार शिविर जोड्ने मौरिक हर्जोग पदमार्गमा पदयात्रा शुरु भएको छ। पदयात्रा टोलीमा प्रथम आरोही मौरिसका छोरा माथिएस, नाती इथेन हर्जोगलगायत फ्रान्सका छ, बेलायतका तीन, भारतका पाँच र इटलीका एक जना सहभागी भएका छन्।

नेपाल सरकारको निमन्त्रणामा अन्नपूर्ण आरोहणको हीरक जयन्ती मनाउने कार्यक्रममा सहभागी हुन विदेशी पाहुनाहरु आएका हुन। आरोहीका परिवारका सदस्य, पर्यटन व्यवसायी, पत्रकारसहित दुई सय जना सहभागी टोली नारच्याङ बेसीदेखि हुमखोला, फुतफुते झरना, साँधीखर्क, भुसकेत, पञ्चकुण्ड ताल हुँदै सोमबार साँझ चार हजार एक सय मिटर उचाईा रहेको अन्नपूर्ण आधार शिविरमा पुग्ने कार्यक्रम छ।

टोलीका साथै मङ्गलबार अन्नपूर्ण आधार शिविरदेखि नारच्याङ गाउँसम्म हुने ३० किलोमिटर दुरीको म्याराथुन प्रतियोगितामा सहभागी ४२ जना धावकहरुको टोली पनि आधार शिविरतर्फ गएका अन्नपूर्ण गाउँपालिका–४ का वडा सदस्य श्याम पुर्जाले बताए। पदयात्रा र धावकहरुको टोलीलाई आइतबार बिहान नारच्याङ बेसीमा बिदाइ गरिएको थियो।

माथिएसको नेतृत्वमा विदेशी कलाकारहरुले सोमबार साँझ आधार शिविरमा आरोहीहरुको सांगितिक कार्यक्रम गर्दैछन्। उनीहरुले शनिबार साँझ नारच्याङ बेसीमा पनि सांस्कृति कार्यक्रम गरेका थिए।

आफ्ना बुवाले आरोहणका क्रममा प्रयोग गरेको पदमार्ग र आधार शिविरमा पुग्न पाउँदा खुसी लागेको माथिएसले बताए। उनी गत असोजमा उक्त पदमार्गको यात्रामा गएका थिए।

हीरक महोत्सवको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा मङ्गलबार हुने कार्यक्रमको तयारी पूरा भएको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दीवा तिलिजा पुनले बताए। पहिलो आरोही हर्जोग, लुइस लचेन र पहिलो नेपाली आरोही सोनाम वाङचुक शेर्पाको आधार शिविरमा स्थापना भएको शालिक अनावरण, खुला सङ्ग्रहालय र मौरिस हर्गोज पदमार्गको उद्घाटन, नारच्याङ बेसीमा मुल समारोह, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम तय भएको छ।

मङ्गलबारदेखि नारच्याङ बेसीमा अन्नपूर्ण गाउँपालिकाका आठवटै वडाको सहभागितामा मगर संस्कृतिमा आधारित पुर्खौली नृत्य, झाँकी तथा खुला नृत्य प्रतियोगिता सुरु हुँदैछ। २१ गते पर्यटकीयस्थल घोडेपानी पुनहिलमा पदयात्रा गर्ने कार्यक्रम छ।

२२ गते पोखरामा प्रथम आरोही हर्जोगले प्रयोग गरेका उपकरण उनका परिवारबाट नेपाल पर्वतारोहण सङ्घद्वारा सञ्चालित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरालाई हस्तान्तरण र हर्गोजले लेखेर फ्रान्सेली राजदूतावासले अनुवाद गरेको पुस्तक ‘द अन्नपूर्ण’ को विमोचन गर्ने कार्यक्रम तय भएको छ।

प्रकाशित: २०८२ जेठ १९ गते सोमबार ०९:५२
प्रतिक्रिया

थप समाचार

भाइटीकाको शुभसाइत कति बेला? कता फर्किने?

काठमाडौँः नेपाली तथा हिन्दु धर्मावलम्बीहरूको ठूलो पर्व दीपावलीको आज अन्तिम दिन भाइटीका मनाइँदैछ। यमपञ्चकको पाँचौँ दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाका यमुनाले आफ्ना दाजु यमराजलाई विशेष...

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’

महँगीको असर मिठाई बजारमा, ग्राहक बढे पनि व्यापार खुम्चियो

काठमाडौँ: तिहारमा मिठाईको उपभोग गर्ने उपभोक्ताको संख्या बढे पनि खरिद गर्ने परिमाण भने घटेको मिठाई व्यवसायीहरूले बताएका छन्। विगतका वर्षमा चाडपर्वका बेला मिठाईको व्यापार बढ्ने गरेको भए पनि...

कोप-३१ मा पर्वत र जलवायुलाई छुट्टै एजेन्डा बनाउन नेपालको प्रस्ताव

नेपाल र भुटानले कोप ३१ मा पर्वत र जलवायु परिवर्तनलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्न संयुक्त प्रस्ताव पेस गर्ने सहमति गरेका थिए। तर, टर्कीको अन्ताल्यामा चलिरहेको सम्मेलनमा किर्गिस्तान, नेपाल...

एनपीएल : आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना