काठमाडौं- अस्ट्रेलियन क्रिकेट टोलीका चर्चित अलराउन्डर ग्लेन म्याक्सवेलले एकदिवसीय अन्तर्राष्ट्रिय (वनडे) क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्। ३६ वर्षीय म्याक्सवेलले सोमबार पत्रकारहरूसँगको कुराकानीमा आफूले औपचारिक रूपमा वनडे क्रिकेटबाट सन्यास लिएको बताएका हुन्।
विश्व क्रिकेटमा पछिल्लो समय सन्न्यासको लहर चलेको अवस्थामा म्याक्सवेल पनि थपिएका हुन्। रोहित शर्मा, विराट कोहली, र एन्जेलो म्याथ्यूले हालै सन्यास लिएका छन्।
म्याक्सवेलले सन् २०१२ मा अस्ट्रेलियाको तर्फबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। उनले २०१५ र २०२३ को विश्वकप जित्ने अस्ट्रेलियन टोलीमा महत्वपूर्ण योगदान दिएका थिए।
उनको आक्रामक ब्याटिङ र उत्कृष्ट फिल्डिङ क्षमताले उनलाई विश्व क्रिकेटमा छुट्टै पहिचान दिलाएको थियो। उनले एकदिवसीय क्रिकेटमा १४९ खेलको १३६ इनिङमा तीन हजार नौ सय ९० रन बनाएका छन्। यस अवधिमा उनले चार शतक र २३ अर्धशतक प्रहार गरेका छन्। उनको व्यक्तिगत उच्च स्कोर अविजित २०१ रन रहेको छ। साथै, उनले बलिङमा पनि प्रभाव जमाउँदै ७७ विकेट लिएका छन्।
म्याक्सवेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेट भने केही समय अझ खेल्ने जनाएका छन्। उनले सन् २०२६ मा हुने टी–२० विश्वकपसम्म यो ढाँचाको क्रिकेट खेल्ने संकेत दिएका छन्। यद्यपि, टेस्ट क्रिकेटबाट भने उनले औपचारिक सन्न्यास लिएका छैनन्, तर फेरि टेस्ट क्रिकेट खेल्ने सम्भावना निकै कम रहेको बताइएको छ।
उनले सन् २०२२ मा खुट्टा भाँचिएपछि आफ्नो शारीरिक अवस्था कमजोर बनेको र त्यसपछि आफ्नो प्रदर्शनमा गिरावट आएको उल्लेख गरे। ‘शरीरले साथ नदिएपछि टोलीमा स्थान ओगटेर बस्नुको कुनै अर्थ छैन,’ म्याक्सवेलले भने, ‘त्यसैले मैले एकदिवसीय क्रिकेटबाट सन्न्यास लिने निर्णय गरेको हुँ। मलाई अहिलेसम्म साथ र समर्थन गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु।’


