काठमाडौँ- नेपाल पर्यटन बोर्डले स्वदेश आउने पर्यटकहरूको यात्रालाई सहज र स्वागतयोग्य बनाउनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंका प्रमुख होटलहरूसम्म निःशुल्क सटल बस सेवा सञ्चालनमा ल्याएको छ।
देशका विभिन्न स्थानमा देखिएको सार्वजनिक सवारीसाधन अवरोध, हड्ताल र यातायात सेवा अवरुद्धजस्ता समस्यालाई दृष्टिगत गर्दै पर्यटकहरूलाई सहज आवागमनको व्यवस्था मिलाइएको बोर्डले जनाएको छ।
यस सेवाअन्तर्गत विमानस्थलको आगमन क्षेत्रमै बोर्डका प्रतिनिधिहरूले पर्यटकहरूलाई आवश्यक जानकारी र सहयोग प्रदान गरिरहेका छन्।
नेपाल पर्यटन बोर्डका अनुसार, आगामी दिनहरूमा यस्ता पर्यटकमैत्री सेवा विस्तार गरिँदै जानेछ।
यो पहलले देश आगमनको पहिलो क्षणदेखि नै पर्यटकहरूमा सकारात्मक र व्यवस्थित अनुभव दिने विश्वास लिइएको छ।
पर्यटन क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा हजारौँ श्रमिकहरूको रोजगारी सुनिश्चित गरिरहेको उल्लेख गर्दै बोर्डले यसको संरक्षण सबैको साझा दायित्व भएको समेत जनाएको छ।


