काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रमुख तीन दलका शीर्ष नेताको छलफल सुरु भएको छ। सिंहदरवारमा सुरु भएको छलफलमा संसदमा प्रतिपक्षी दलको अवरोधका विषयमा छलफल गर्ने एजेन्डा रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखकलगायत सहभागी छन्।
छलफलमा प्रचण्डका लागि पनि विशेष कुर्सीको व्यवस्था गरिएको छ। नेपाली कांग्रेसका सभापति देउवा र प्रचण्डका लागि समान हैसियतको कुर्सी राखिएको छ भने प्रधानमन्त्री ओलीका लागि अझ विशेष कुर्सी राखिएको छ।
यसअघि ओली र देउवा भेट हुँदा समान प्रकृतिको कुर्सीमा बस्ने गरेका थिए। ओली पछिल्लो पटक प्रधानमन्त्री भएयता प्रचण्ड बालुवाटार जाँदा उनका लागि विशेष कुर्सीको व्यवस्था गर्ने गरिएको थिएन।
गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै माओवादीसहितका दलले सदनमा अवरोध गर्दै आएका छन्। यस्तो बेला प्रचण्डलाई विशेष कुर्सीमा राखेर ओलीले माओवादीलाई लचक बनाउने यत्न गरेका छन्।
भिजिट भिसा प्रकरणमा विदेश जाने नेपालीसँग दिनहुँ चर्को घुस रकम असुली गर्ने गरिएको र त्यसमा गृहमन्त्री समेत संलग्न रहेको आरोप लागेको छ। यो प्रकरणलाई रास्वपाले प्रतिष्ठाको विषय बनाउँदै गृहमन्त्रीको राजीनामा र छानबिनि समिति गठन गर्नुपर्ने मागलाई बटमलाइन बनाएको छ।
नेपाली कांग्रेसका केही नेताहरूले गृहमन्त्रीलाई राजीनामा दिन सुझाव दिए पनि देउवाले भने राजीनामा दिन नपर्ने अडान लिएका छन्। ओलीले पनि गृहमन्त्रीले राजीनामा दिन नपर्ने बताइसकेका छन्।


