काठमाडौँ- काठमाडौँ महानगरपालिका (केएमसी)का प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन्।
महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका हुन्। यसअघि पाण्डेलाई गुराउगाईँले स्पष्टीकरण सोधेका थिए। तर सन्तोषजनक स्पष्टीकरण नदिएको भन्दै पाण्डेलाई निलम्बन गर्ने निर्णय गुरागाईँले लिएका हुन्। पाण्डेले मेयर बालेनका हरकदममा साथ दिँदै आएका थिए।
यस निर्णयसँगै महानगर प्रहरी विभागको नेतृत्वमा नयाँ नियुक्तिका लागि प्रक्रिया अघि बढाइएको छ।
आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेको सम्वन्धमा गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए। आफ्नो जवाफमा पाण्डेले मेयर बालेन शाहको आदेशमा चलेको जवाफ पठाएका थिए।
प्रशासकीय अधिकृतको गाडीमा ह्वील लक गरेको विषयमा पनि उनलाई सोधिएको थियो। पाण्डेले गाडीको सुरक्षाका खातिर ह्वील लक गरेको दाबी गरेका छन्।
लामो समय बिदामा राखिएपछि चैत २१ गते प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ कार्यालय प्रवेश गर्न खोज्दा नगर प्रहरीले रोकेको थियो। कर्मचारीले गुरागाईँको पक्षमा नाराबाजी गर्दा महानगर प्रहरीसँग धकेलधाकेल पनि भएको थियो। यसपछि उनलाई कार्यकक्षमा पुर्याएका थिए।
तर गुरागाइँको कार्यकक्षको चाबी नभेटेपछि कर्मचारी र जनप्रतिनिधिले कार्यकक्षमा लगाइएको ताला फुटाउने प्रयास गर्दागर्दै नगर प्रहरी आएर हस्तक्षेप गरेको थियो। ताला फुटाउने काम जारी रहँदा मेयर बालेन्द्र शाह (बालेन)को निर्देशनमा काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेसहितको टोलीले हस्तक्षेप गरेका थिए। त्यसपश्चात बैठक हलमा छलफल कार्यकक्षमा पुगेका थिए।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा काठमाडौं महानगरपालिकाका कर्मचारीले ३ महिनादेखि तलबभत्ता लिन पाएका थिए। उनी कार्यालयमा गएको केही दिनमा नै कर्मचारीको तलव निकासा गरिएको थियो।
पुरानो बसपार्कमा काठमाडौँ टावरको नक्सा नियमविरीत पास गर्ने प्रक्रिया अगाडि बढाएको भन्दै गुरागाईंलाई महानगरले जिम्मेवारीबाट हटाएको थियो।


