काठमाडौँ- एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा ‘लिग अफ क्रिएटर्स’ अभियान सुरुवात गरेको छ। यसले नेपालभरि फैलिएर रहेका भावी प्रतिभाशाली डिजिटल सामग्री निर्माताहरूको पहिचान र सशक्तीकरण गर्ने लक्ष्य लिइएको छ।
‘क्रिएट, कम्पिट, कन्कर’ भन्ने उत्साहजनक नारासहित सुरु भएको यो अभियानको प्रतियोगिताले डिजिटल कन्टेन्ट क्रिएटर्स बन्न चाहनेलाई ‘माई नेटवर्क, माई कनेक्टिभिटी’ भन्ने विषयवस्तुमा आधारित रही आफ्ना सामग्री प्रस्तुत गर्न प्लेटफर्म प्रदान गर्ने एनसेलले जनाएको छ।
प्रतियोगिता मार्फत सहभागीहरूले आफ्नो पहिचान बनाउने मौका पाउनेछन् र साथै पुरस्कारका रूपमा एनसेलसँग १० लाख रुपैयाँ बराबरको एक वर्षको ब्रान्ड डिल जित्ने मौका पाउनेछन्।
सहभागी प्रतियोगीलाई सञ्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फुडी नेपाल, पराक्रम राणा, एकता तन्डुकार जस्ता सम्बन्धित क्षेत्रका अग्रणी व्यक्तित्व र चर्चित क्रिएटरले मार्गदर्शन गर्नेछन्।
‘यो केवल प्रतियोगिता मात्र होइन, सिर्जनात्मक विकास यात्रा हो, जसमा मेन्टरसिप, कार्यशालाहरू, वास्तविक अनुभव लिँदै सिक्ने मौका, चुनौतीपूर्ण चरणहरू र रोमाञ्चक पुरस्कारहरू रहेका छन्, यस अभियान मार्फत हामी नयाँ पुस्ताका हाम्रा नेपाली डिजिटल सामग्री निर्मातालाई सिक्ने, अघि बढ्ने र प्रभावशाली सामग्री मार्फत परिवर्तन ल्याउन प्रेरणा दिँदै सशक्त बनाउने प्लेटफर्म दिन चाहन्छौं,ल एनसेलका मार्केटिङ कम्युनिकेसन तथा सस्टेनेबिलिटी निर्देशक पुनम सिंहले भनिन्, ‘नेपालको डिजिटल इकोसिस्टमको हिस्सा भएका नाताले हामी प्रतिभाको विकास र रूपान्तरणमा सक्रिय भूमिका खेल्न प्रतिबद्धता छौं।’
प्रतियोगिताका लागि १८ जेठदेखि दर्ता खुला गरिएको छ। यो प्रतियोगितामा पहिला अनुभव भएका वा नभएका सबै १६ वर्षमाथिका नेपाली डिजिटल सामग्री निर्माता अर्थात् क्रिएटरले सहभागिता जनाउन सक्छन्।
सहभागीले आफ्नो नेटवर्क र कनेक्टिभिटीप्रतिको व्यक्तिगत वा भावनात्मक बुझाइ झल्किने ३० देखि ९० सेकेन्डको भर्टिकल भिडियो तयार गरी टिकटक र इन्स्टाग्राम दुवैमा पोस्ट गर्नुपर्ने जनाइएको छ।
एनसेललाई @Ncell ट्याग गर्दै तोकिएको आफ्नो मेन्टर जस्तै #TeamSanjog र #NcellLeagueOfCreators2025 ह्यासट्याग लेखिएको हुनुपर्दछ। भिडियो पोस्ट गर्ने अन्तिम म्याद २७ जेठ हो। भिडियो पोस्ट गर्ने अन्तिम म्याद २७ जेठ हो।
देशभरिबाट प्राप्त हुने भिडियोबाट उत्कृष्ट ५० क्रिएटरलाई मेन्टरले छान्नेछन्, जसले विशेष प्रशिक्षण र मेन्टरसिप प्राप्त गर्नेछन्। यसरी छानिने ५० क्रिएटर ५ जना मेन्टरको नेतृत्वमा रहने समूहमा विभाजन गरिनेछन् र प्रत्येक समूह एनसेल आइकनमा आयोजना हुने कार्यशालामा सहभागी हुनेछन्।
यो अभियानमा च्यालेन्ज राउन्ड पनि समावेश रहेको छ जसमा सहभागीले आफूलाई प्रदान गरिएको सिर्जनात्मक ब्रिफिङ बमोजिम सामग्री तयार पार्नुपर्ने हुन्छ र विज्ञ निर्णायकले त्यसको मूल्यांकन गर्नेछन्।
‘लिग अफ क्रिएटर्स’ को ग्रान्ड फिनाले १४ असार २०८२ मा आयोजना गरिने र विजेता घोषणा गरिने छ। उत्कृष्ट प्रतिभालाई मनोरञ्जनात्मक कार्यक्रममाझ सम्मान गरिने छ।
मुख्य विजेताले एनसेलसँग १० लाख रुपैयाँ बराबरको एक वर्षका लागि ब्रान्ड डिल प्राप्त गर्ने छ। यस्तै नेपालका शीर्ष क्रिएटरसँग विशेष प्रशिक्षण, देशव्यापी पहिचान र नेटवर्किङका अवसर यस प्रतियोगिताका थप आकर्षण हुन्।
साथै, एनसेल र अमेरिकी दूतावासका सम्बन्धित प्रतिनिधिले सहभागी क्रिएटरको सामग्री मूल्यांकन गर्नेछन्।


