काठमाडौँ- २०६४ सालमा नेपालमा दर्ता भएको पतञ्जलि योगपीठ नेपालले काभ्रेको बनेपामा आयुर्वेद शिक्षालय, अस्पताल र जडीबुटी फार्म निर्माण गर्नका लागि ८१५ रोपनी जग्गा हदबन्दी छुटमा माग गर्यो। तत्कालीन प्रधानमन्त्री माधव नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले २०६६ माघ १८ मा सो छुट उपलब्ध गराउने निर्णय गर्यो।
कानुनअनुसार हदबन्दी छुटमा दिइएको जग्गा बेच्न नपाइने व्यवस्था छ। तर उक्त जग्गा बिक्री गराउनका लागि उनै नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले अनुमति दियो। योगपीठले ८५ रोपनी जग्गा बेचेको पनि पाइएको छ। किन्दा सस्तोमा किनेको जग्गा मन्त्रिपरिषद्को निर्णय गराएर भ्रष्टाचार भएको आरोप लाग्यो। यो विषयमा अख्तियारले अनुसन्धान थाल्यो।
भूमिसुधार मन्त्रालयका कर्मचारीले बिक्री अनुमतिको प्रस्ताव रोक्ने प्रयास गरेका थिए। तर तत्कालीन भूमि सुधारमन्त्री डम्बरबहादुर श्रेष्ठले ‘प्रधानमन्त्रीको मौखिक आदेश’ भन्दै निर्णय अनुमोदन गरेको फाइल अख्तियारले फेला पारेको छ।
अख्तियारका अनुसार जग्गा खरिदबिक्रीको प्रक्रिया नेपालको भूमि ऐन, २०२१ विपरीत रहेको र यसबाट सरकारलाई करिब १८ करोड ५८ लाख रुपैयाँ बराबरको क्षति पुगेको भन्दै उक्त रकम मागदाबी गरेको छ। सो ऐनअनुसार विशेष छुटका आधारमा लिइएको जग्गा न बेच्न मिल्ने न त अन्य प्रयोजनमा उपयोग गर्न मिल्ने व्यवस्था छ। परियोजना पूरा नभएमा सो जग्गा पुनः सरकारकै स्वामित्वमा फर्किनुपर्ने जग्गा बिक्री भएको थियो।
यो घटनाले मन्त्रिपरिषद्का निर्णयहरूप्रति पनि कानुनी जवाफदेहिताको विषयमा नयाँ बहस सिर्जना गराएको छ। यसअघि कुनै पनि पूर्वप्रधानमन्त्रीविरुद्ध मन्त्रिपरिषद् निर्णयकै आधारमा भ्रष्टाचार मुद्दा दायर गरिएको यो पहिलो घटना हो। लोकतन्त्र प्राप्तिपछिको समयमा भ्रष्टाचार मुद्दा खेप्ने पहिलो पूर्वप्रधानमन्त्रीको नाम पनि नेपालकै भएको छ।
पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपाल (हाल पतञ्जली योगपीठ नामक मुनाफा वितरण नगर्ने प्रकृतिको कम्पनी) स्थापना भएको कम्पनीका संस्थापक सदस्य शालीग्राम सिंहसमेतले सरकारी सार्वजनिक पदधारण गरेको व्यक्तिहरुसँगको मिलोमतो काभ्रेसहित देशका विभिन्न स्थानमासमेत जग्गा किनेको अख्तियारको अनुसन्धानले देखाएको छ।
सिंहसमेतले मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका कर्मचारी, गुठी संस्थान, शाखा कार्यालय काभ्रेपलाञ्चोकका कर्मचारी, सनराईज बैंकका कर्मचारी/पदाधिकारी, भूमिसुधार तथा व्यवस्थापन विभागका कर्मचारी, भूमिसुधार तथा व्यवस्था मन्त्रालयका कर्मचारी तथा विभागीय मन्त्री, मुख्यसचिव, मन्त्रिपरिषद्, विधेयक समितिका संयोजक, प्रधानमन्त्रीसमेतका पदाधिकारीसँगको मिलोमतोमा खरिदबिक्रीको काम गरेको देखिएको अख्तियारको अनुसन्धानले उल्लेख गरेको छ।
यो प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो। भ्रष्टाचार मुद्दा दायर भएसँगै एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री नेपालको सांसद पद निलम्बनमा परेको छ।
नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर भएको छ। नेपाल विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा (३) (१) (ज) अनुसार १४ वर्षसम्म कैद र सोही ऐनको दफा २४ बमोजिम राज्यको उच्च ओहदामा पुगेर पनि भ्रष्टाचार गरेको भन्दै थप ३ वर्षसम्म कैद सजाय माग गरेको छ।
अन्यको हकमा भने बिगो रकम फरक फरक छ।
यी हुन् प्रतिवादी
नेपालसँगै यो प्रकरणमा प्रतिवादी हुनेमा कानुनमन्त्री प्रेमबहादुर सिंह र तत्कालीन मन्त्री डम्बरबहादुर श्रेष्ठ बितिसकेका (उनका छोरा सन्तोष श्रेष्ठ) छन्।
तत्कालीन मुख्यसचिव स्वर्गीय माधवप्रसाद घिमिरेको हकमा उनकी श्रीमती कमला घिमिरे, भूमिसुधार सचिव छविराज पन्त छन्। यसैगरी तत्कालीन सहसचिवहरु जितबहादुर थापा र लालमणि जोशीविरुद्ध पनि मुद्दा दर्ता भएको छ।
यसैगरी तत्कालीन कानुन उपसचिव कलानिधि पौडेल, गान्धीप्रसाद सुवेदी, भुपेन्द्रमणि केसी, तत्कालीन महानिर्देशक केशरबहादुर बानियाँ र तत्कालीन उपसचिव राजाराम थापाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ।
• तत्कालीन शाखा अधिकृत सीताराम पोखरेल
• तत्कालीन नायब सुब्बा बुद्धिबहादुर कार्की
• तत्कालीन मालपोत अधिकृत प्रेमबहादुर देशार
• तत्कालीन मालपोत अधिकृत केदारनाथ भट्टराई
• खरिदार मोहनराम शर्मा
• मालपोत अधिकृत जनार्दन गुरागाईं
• मालपोत अधिकृत बेदप्रसाद अर्याल
• मालपोत अधिकृत शिवहरि शर्मा सुवेदी
• नायब सुब्बा विनोद कोइराला
• तुलामणि राजभण्डारी
• कृष्णप्रसाद सापकोटा
• खरिदार हरिप्रसाद हुमेगाईं
• गुठी संस्थान काभ्रेका तत्कालीन कायम मुकायम प्रमुख कृष्णहरि भट्टराई
• संस्थान काभ्रेकै वरिष्ठ सहायक पवन आचार्य
• संस्थान काभ्रेकै फाँटवाला माधव प्रसाद होमागाईं
• सनराइज बैंकका जुनियर म्यानेजमेन्ट ट्रेनी यशु मैनाली
• बैंककै उपप्रबन्धक मनोज न्यौपाने
• बैंककै वरिष्ठ सहायक विक्रान्त कोइराला
• बैंककै प्रमुख व्यवस्थापक रविन कुमार नेपाल
• बैंककै सहायक महाप्रबन्धक आशा राणा अधिकारी
• बैंककै जोखिम व्यवस्थापन विभागका प्रमुख सन्जयकुमार सिद्धी
• बैंककै अनुपालन विभागका सुनिलरत्न स्थापित
• बैंककै नायक महाप्रबन्धक बलराम विष्ट
• पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालका संस्थापक सदस्य शालिग्राम सिंह
• पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालका भोजराज शर्मा वाग्ले
• पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालका जीवनराज कँडेल
• पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालका ध्रुवराज थापा
• पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालका मनु घिमिरे
• पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालका ओमप्रकाश वंश
• पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालका भिमदत्त जोशी
• पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालका विरेन्द्रलाल श्रेष्ठ
• पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालका लक्ष्मण कार्की


