काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सदनको अवरोधबारे छलफल गर्ने भएका छन्।
भिजिट भिसा प्रकरणमा सदन अवरोध भइरहेका वेला प्रचण्डले नै आफूले देउवासँग छलफल गर्ने तयारी गरेको बताएका हुन्।
शुक्रबार संसद भवन नयाँ बानेश्वमार सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भिजिट भिसा प्रकरणमा देउवासँग छलफल गर्न लागेको बताएका हुन्।
‘विपक्षीले राखेका विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँगै छलफल गर्ने तयारी छ,’ उनले भने। प्रचण्डले कांग्रेसका अन्य नेताहरू छानबिन प्रक्रिया अगाडि बढाउन सकारात्मक देखिएको जिकिर गरे। ‘एकदुई दिन भित्रै यस विषयमा उचित निकाश निस्कने उनको भनाइ छ।
छानबिन समिति बनाउने वातावरण बने संसदको अवरोध खुल्ने बताएका छन्। छानबिन हुन जरुरी रहेको भन्दै यसमा सत्तापक्ष तयार भए संसदको अवरोध खुल्ने बताए।
पतञ्जली जग्गा प्रकरणमा सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रचण्डले सरकारको नीतिगत निर्णयमा अख्तियारले मुद्दा लगाएपछि प्रश्नचिन्ह खडा भएको टिप्पणी गरे। माधव नेपालविरूद्ध मुद्दा दर्ता हुनुमा प्रतिशोधको गन्ध आएको उनले बताए।
प्रचण्डले माधव नेपाल स्वयंले अदालतले न्याय दिने बताएको र आफूलाई पनि न्याय दिनेमा विश्वास रहेको उल्लेख गरे।


