बाजुरा– बाजुराको बुढीगंगा नगरपालिका-८ मा रहेको बाम्का बजारमा भीषण आगलागी भएको छ।
शुक्रबार दिउँसो भएको आगलागीबाट ३१ पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक इकबाल हवारीका अनुसार ग्यास सिलिन्डर पड्किएर आगलागी भएको हो।
बाजुरा बुढीगंगा नगरपालिकाका मेयर रामबहादुर बानियाँले आगलागीबाट ठूलो क्षति भएको बताए ।
अहिले आगलागी नियन्त्रणमा आइसकेको भएपनि थप पसलहरू जलेको हुन सक्ने प्रहरीको अनुमान छ। क्षतिको विवरण सङ्कलनको क्रममा रहेको प्रहरीले जनाएको छ।
आगलागी नियन्त्रणका लागि स्थानीयवासी, प्रहरी र अन्य सुरक्षाकर्मी खटिएका थिए। आगलागीपछि प्रभावित भएकाहरू खुला आकाशमुनि रहेका छन्।


