काठमाडौँ- प्रतिपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ।
आइतबार साँझ बसेको प्रतिनिधिसभा बैठक सुरु हुनेबितिकै प्रतिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका थिए।
भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै उनीहरुले उठेर विरोध जनाएका हुन्।
प्रतिपक्षी दलका सांसदहरुले सदन अवरोध गरेपछि सत्तापक्ष दलका सांसदहरु बोल्न पाउनुपर्ने भन्दै उठेका थिए। दुई पक्षको होहल्लाकाबीच सभामुख देवराज घिमिरेले सहज रुपमा सदन सञ्चालन गर्न आग्रह गरेका थिए।
उनले सदनको अवरोध खुलाउने बिषयमा दलहरुबीच सकारात्मक छलफल भएको आभाश पाएको उल्लेख गरे।
प्रतिपक्षी दलका सांसदहरुले निरन्तर उठेर विरोध जनाएपछि सभामुख घिमिरेले कार्यसूचीमा रहेका सम्पूर्ण कार्यक्रम हटाएर सोमबार दिउँसो २ बजे बस्ने गरी स्थगित गरे।
संसदको अवरोध हटाउने विषयमा सभामुख, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र रास्वपाका बैठकहरूमा कुनै पनि कुरा नमिलेपछि संसद बैठक हल्लाखल्ला गरेर समापन गरिएको थियो।


