काठमाडौँ- सभामुख देवराज घिमिरेले सोमवार दिउँसो २ बजे बस्ने संसद् बैठकमा अवरोध नहुने विश्वास व्यक्त गरेका छन्।
राससले आयोजना गरेको ‘पर्वतीय पर्यटन : हाम्रो सान, हाम्रो पहिचान’ तस्बिर प्रदर्शनी अवलोकनपछि उनले केही दिनदेखि अवरुद्ध बैठक आज २ बजे सुरु हुने विश्वास व्यक्त गरेका हुन्।
‘सदन अवरूद्ध हुनुपर्ने नै होइन, तर भयो। प्रतिनिधिसभा बैठक आज २ बजेदेखि सञ्चालन हुनेछ,’ सभामुख घिमिरेले भने। उनले बजेटको छलफल गर्न लागिएको अवस्थामा बैठक अवरुद्ध हुँदा सांसद संख्या घटाउनुपर्ने र विधि पुर्याएर छलफल गर्नुपर्ने बताए।
‘नोक्सानी हुने त भइसक्यो,’ उनले भने, ‘अबको कार्यसूची त्यहीअनुसार बनाएर जानुपर्छ, विधिअनुसार बजेटमाथिको छलफल सक्नुपर्छ।’ सभामुख घिमिरेले बजेटमाथिको छलफल समयमै सक्न कार्यसूची तयार हुने बताए।


