काठमाडौँ- गर्मी बढेसँगै देशैभर डेङ्गीको संक्रमण फैलिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरी १ देखि जुन ८ सम्ममा एक हजार दुई सय ५५ जना डेङ्गीका सङ्क्रमित भेटिएका छन्। महाशाखाले यो वर्ष (सन् २०२५) मा ७२ जिल्लामा डेङ्गी सङ्क्रमण पुष्टि भएको जानकारी दिएको छ।
काठमाडौँ उपत्यकामा १३२ जना डेङ्गीका संक्रमित छन्। कास्कीमा ९०, सुनसरीमा ८७, चितवनमा ६१, पाल्पामा ५१, रुपन्देहीमा ४७, कञ्चनपुरमा ३७, दाङमा ३२ र भक्तपुरमा ३० वटा सङ्क्रमित भेटिएका छन्।
ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले डेङ्गीलाई शून्यमा नै ल्याउने र डेङ्गी गराउने लामखुट्टे सखाप नै पार्ने अवस्था सिर्जना गर्न नसकिए पनि नियन्त्रण भने गर्न सकिने बताएका छन्।
‘डेङ्गीको सङ्क्रमण र मृत्युदर घटाउन सकिन्छ। यसका लागि सबै जनाको समन्वय आवश्यक छ। नागरिक, समुदाय, सरकारी-गैरसरकारी संस्था सबैले हातेमालो गर्नुपर्छ,’ उनले भने।
त्यसो त यो वर्ष मनसुन छिट्टै सुरु भएको र मौसमविद्ले पानी धेरै पर्न सक्ने आकलन गरेकाले सङ्क्रमण बढ्न सक्ने सम्भावना रहेको समेत दाहालले बताएका छन्।
‘यो वर्ष डेङ्गी सङ्क्रमण बढ्छ वा स्थिर रहन्छ भनेर ढ्याक्कै भन्न त सकिँदैन, यद्यपि मनसुन केही अघि सुरु भएको र धेरै पानी पर्ने सम्भावना छ। भनिएको हुनाले पानी जम्मा हुने र सञ्चित भएर बस्ने र लामखुट्टेको विकास हुने सम्भावनालाई नकार्न मिल्दैन’, उनले भने।
डेङ्गी नियन्त्रणमा सबैले आआफ्नो ठाउँबाट सक्दो प्रयास गर्नुपर्ने दाहालको भनाइ छ। यसका लागि तीनै तहका सरकारले आफ्नो ठाउँबाट प्रयास गर्न आबश्यक छ।
डेङ्गी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको रोग हो। डेङ्गीबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
यसबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्यांकी पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्ने, पानी जम्मा गरी राखिएका पानीको ट्यांकी, ड्रम, गाग्री, बाल्टिनलाई लामखुट्टे छिर्न नपाउने गरी राम्रोसँग छोपेर राख्ने, आफ्नो घर वरपर, कार्यस्थल र सार्वजनिक स्थानमा फाएिका काम नलाग्ने भाँडाकुँडा, सिसी, बोतल, प्लास्टिकजन्य वस्तुको व्यवस्थापन गर्न विज्ञहरुले आग्रह आग्रह गर्दै आएका छन्।
साधारणतय डेंगी भाइरस ग्रसित पोथी लामखुट्टेको टोकाइले आउने ज्वरो र भाइरल संक्रमण हो। डेंगीका कारण उच्च ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी र जोर्नी दुख्ने, खान मन नलाग्ने, वान्ता हुनेलगायतका समस्या देखा पर्दछन्। डेंगी लागेका बिरामीलाई सुरूको दिनमा १०३ देखि १०४ डिग्री सम्म ज्वरो आउँन सक्ने डाक्टरहरूले बताउँदै आएका छन्।
सामान्यतः जुनदेखि अगस्टसम्म (असार–भदौ) सम्मलाई डेङ्गी सङ्क्रमणको जोखिम कायम रहने डाक्टरहरुले बताउँदै आएका छन्।


