काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोलबीच कार्यपालिका बैठक बोलाउने विषयमा कुराकानी भएको छ। काठमाडौं प्लाजास्थित मेयर कार्यालयमा दुवै पदाधिकारीबीच कुराकानी भएको हो।
पुस १४ गतेयता बस्न नसकेको महानगरको कार्यपालिका बैठक बोलाउने विषयमा मेयर र उपेमेयरबीच कुराकानी भएको मेयरको सचिवालयले जानकारी दिएको हो।
तीन जना वडाध्यक्षसहित सुनीतासँग बालेनले कुराकानी गरेका थिए। उनीहरू कार्यपालिका बैठक छिट्टै बोलाउन सहमत भएका छन्।
‘मेयर साब चाँडै कार्यपालिका बैठक र नगरसभा डाक्न सहमत हुनुभएको छ,’ काठमाडौँ महानगरका प्रवक्ता नवीन मानन्धरले नेपाल क्लिक्ससँग भने, ‘ठ्याक्कै यही दिन बैठक बस्छ भन्ने तोकिएको त छैन। तर नयाँ आर्थिक वर्षको बजेट समेत ल्याउनुपर्ने भएकाले पनि अब चाँडै बैठक बस्नैपर्ने छ।’
सरकार सञ्चालन ऐन, २०७४ अनुसार कार्यपालिकाको बैठक महिनाको एक पटक बस्ने व्यवस्था छ। तर मेयर बालेनले यो व्यवस्थालाई बेवास्ता गरेको भन्दै महानगरकै पदाधिकारीहरूले आलोचना गर्दै आएका छन्।


