काठमाडौँ- इजलासमै न्यायाधीशमाथि कालोमोसो छ्यापिएको घटनाका दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन नेपाल बार एशोसिएशनले माग गरेको छ। बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कानुनी कारवाहीको दायरमा ल्याउन माग गरेका हुन्।
बिहीवार उच्च अदालत जनकपुर वीरगंज अस्थायी इजलासमा नै पुगेर न्यायाधीशद्वय डा. खुशीप्रसाद थारु र अर्जुन महर्जनमाथि नेकपा बहुमतका कार्यकर्ताले कालोमोसो प्रहार गरिएको थियो।
‘यो घटनाको नेपाल बार एशोसिएशन कडा शब्दमा भर्त्सना गर्दछ र दोषी उपर कानूनी कार्वाही गर्न जोडदार माग गर्दछ,’ महासचिव कोइरालाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘न्याय सम्पादन गर्ने न्यायकर्तालाई भौतिक रूपमा प्रहार गर्ने र त्यसैलाई खुशी र उत्सवको रूपमा मनाई मलजल गर्ने विरोधाभाष समाजमा देखा परेको छ, जुन अत्यन्त गम्भीर कुरा हो।’
न्यायाधीशको विवेक प्रयोगमा असर पुर्याउने तथ्य, प्रमाण र कानूनबाहेक अरु हुन नसक्ने बारको भनाइ छ। कानूनले न्यायाधीशलाई दिएको अख्तियार प्रयोग गरी उनीहरूले फैसला गर्न पाउने बारले उल्लेख गरेको छ। न्यायाधीशमाथि नै कालोमोसो प्रहार गर्ने घटनाले न्यायलाई प्रभावित गर्न खोजिएको उसको भनाइ छ।
न्यायाधीशद्वय थारू र महर्जनले नेपाली कांग्रेसका नेता मोहम्मद आफताव आलमलाई कर्तव्य ज्यान मुद्दामा सफाइ दिने फैसला गरेका थिए। सो फैसलाका विषयमा विभिन्न टीकाटिप्पणी भइरहेका बेला बिहीवार दिउँसो ३:३० बजे इजलासमा नै पुगेर नेकपा बहुमतका कार्यकर्ताहरूले न्यायाधीशद्वयमाथि कालोमोसो छ्यापेका थिए। यो घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।


