नयाँ दिल्ली- भारतीय बहुराष्ट्रिय व्यापारिक समूह टाटा ग्रुपले अहमदावाद जहाज दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई एक-एक करोड रुपैयाँ दिने घोषणा गरेको छ।
टाटा सन्सका चेयरम्यान एन चन्द्रशेखरनले एक्समा पोस्ट गर्दै यस्तो घोषणा गरेका हुन्। ‘दुर्घटनामा परेका सबैलाई हाम्रो सामर्थ्यले सकेसम्म सहयोग गर्छौँ,’ उनले भनेका छन्।
टाटाले घाइतेहरूको उपचारको सम्पूर्ण खर्च कम्पनीले बहन गर्ने र उनीहरूलाई आवश्यक सबै सहयोग हुने पनि बताएका छन्। एयर इन्डिया टाटा समूहको कम्पनी हो।
भत्किएको मेडिकल होस्टेल बनाइदिने पनि उसले घोषणा गरेको छ।
सन् १९३२ मा टाटा ग्रुपले स्थापना गरेको एअर इन्डिया सन् सन् १९५३ देखि भारत सरकारले चलाउन थालेको थियो।
७० वर्षपछि भारत सरकारले चलाउन नसकेपछि सन् २०२२ मा टाटा ग्रुपले एअर इन्डिया किनेको थियो।
अहमदावाद जहाज दुर्घटनामा एक यात्रु मात्र बाँच्न सफल भएका छन्।
भारतीय मूलका बेलायती नागरिक ४० वर्षीय विश्वास कुमार रमेश बाँच्न सफल भएका हुन्।
उनी भारतमा रहेका आफन्त भेट गर्न बेलायतबाट आएका थिए।
४५ वर्षीय दाजु अजयकुमार रमेशसँगै लन्डनका लागि प्रस्थान गरेका थिए। दाजु अजयको दुर्घटनामा मृत्यु भएको छ। विश्वासको छाती, घाँटी र आँखामा चोट लागेको छ।
जहाज उडेको ३० सेकेन्डमा नै समस्या सुरु भएको उनले बताएका छन्।
जहाज दुर्घटनामा परी कम्तीमा २४१ जनाको मृत्यु भएको छ।


