काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सबै क्रियाशिल सदस्यहरुबाट प्रत्यक्ष रुपमा सभापति छान्ने व्यवस्था गरे पार्टीमा गुटबन्दी अन्त्य हुने बताएका छन्।
कांग्रेस क्षेत्र नम्बर ६ प्रदेश ‘क’ काठमाडौँको तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्रियाशिल सदस्यबाट सभापति चुन्ने व्यवस्था पार्टीको गुटबन्दी खत्तम गर्ने एउटा अचुक अस्त्र रहेको बताए।
उनले अहिलेको सभापति चयन प्रकृयाबाट गुट रहिरहने बताए। ‘सबै साथीहरु तयार हो भने पार्टीको गुटबन्दी खत्तम गर्ने एउटा अचुक अस्त्र छ। नेपाली कांग्रेसमा ८ लाख ६६ हजार क्रियाशिल सदस्य छौँ । अब थपिएर १२ लाख पुगे रे’, थापाले भने ‘त्यही सिधै त्यो १२ लाख मान्छेले सभापति छान्ने व्यवस्था गरौँ त ल। १२ लाख मान्छेबाट निर्वाचित भएको सभापतिले जसले गुट बनायो त्यो ध्वस्त। त्यो सकियो। होइन भने गुट त बन्छ, जति भाषण गरे पनि।’
उनले माथिदेखि तलसम्म गुटले पार्टीलाई ध्वस्त बनाएको जिकिर गरे। साथै थापाले २०८३ साल मंसिर भन्दा अगाडि नै पार्टीको महाधिवेशन हुने दाबी गरे।


