काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भिजिट भिसा प्रकरणमा सरकारमा रहेका दुई राजनीतिक दलहरूसँग गरेको सम्झौता पार्टी हितमा भए/नभएको बारेमा पार्टीमा समीक्षा हुनुपर्ने बताएका छन्।
माओवादी केन्द्र दोलखा-काठमाडौं सम्पर्क समन्वय समितिको सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारमा रहेका दुई राजनीतिक दलहरूसँग दुई बुँदे सम्झौता भएपछि संसद् खुलेको बताए।
त्यसबारेमा विभिन्न प्रतिक्रियाहरू आइरहेको बताउँदै पार्टी अध्यक्षसँग प्रत्यक्ष छलफल हुन नसकेको र समग्र परिस्थितिको लेखाजोखा गरेर त्यस्तो निष्कर्षमा पुगेको हुनसक्ने बताए।
‘अध्यक्ष कमरेडले समग्र परिस्थितिको लेखाजोखा गरेर त्यस्तो निष्कर्षमा पुग्नुभएको हुनसक्छ। पार्टीमा आधिकारिक रुपमा भन्नसक्ने स्थितिमा छैन। हामीले यो मुद्दा छोड्दैनौँ,’ श्रेष्ठले भने, ‘भ्रष्टाचारको यो स्तरको जो प्रक्रिया अगाडि आएको छ, यो मुद्दा हामीले छोडेका होइनौँ। हामी छोड्दैनौँ। यो भ्रष्टिकरणको विरुद्ध, भ्रष्टाचारको विरुद्धको अभियान जारी राख्छौँ। अरु कुराको हकमा तात्कालीक कार्यनीतिका हिसावले के पर्यो, किन त्यसो गर्नुपर्यो भन्नेकुरा हामी छलफल गरेर मात्रै एउटा टुंगोमा पुग्नेछौँ।’


