काठमाडौँ- वर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न राजमार्गका अवरुद्ध भएका छन्। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार महेन्द्र राजमार्ग, कान्ती लोकमार्ग, अरनिको राजमार्ग, कालीगण्डकी करिडोर, जुम्ला–मुगु सडक अवरुद्ध भएका हुन्।
नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका–१ मा रहेको विनयी खोलाको बाढीले डाइभर्सन नै बगाउँदा पूर्वपश्चिम (महेन्द्र) राजमार्ग अवरुद्ध भएको छ।
ललितपुरको बागमती गाउँपालिका–३ छपेलीमा पहिरो खस्दा आज बिहानैदेखि कान्ति लोकथप सडक अवरुद्ध भएको छ।
यस्तै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा तीन ठाउँमा पहिरो खसेर अरनिको राजमार्ग अवरुद्ध भएको छ। भोटेकोशी गाउँपालिका–२ कोदारी, वडा नं ३ लार्चा र वडा नं २ कै कोप्लाङमा पहिरो खसेर सडक अवरुद्ध भएको हो।
गुल्मीको कालीगण्डकी गाउँपालिका–६ बर्लबामा पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ। जुम्लाको सिंजामा पहिरो खस्दा जुम्ला–मुगु सडक पनि अवरुद्ध भएको छ।
धनकुटाको साँगुरीगढी गाउँपालिका–५ को रवि–राके–भेडेटार सडक एकतर्फी खुलाइएको छ। अवरुद्ध रहेका सडक खुलाउने प्रयास जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।


