काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्र धरौटी बुझाएर छुटेका छन्। मिश्रकी श्रीमती सारिका कार्कीले धरौटीबापतको तीन लाख रुपैयाँ जम्मा गरेपछि उनी रिहा भएका हुन्।
तीनकुने घटनामा प्रतिवादी बनाइएका उनी मङ्गलबार बिहान आफैँ अदालतमा उपस्थित भएका थिए। मिश्र उपस्थित भएपछि आजै उनको बयान र थुनछेक बहस गरिएको हो।
न्यायाधीश तारादेवी महर्जनको इजलासले मिश्रलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएकी थिइन्। वरिष्ठ अधिवक्ताहरु गोविन्द बन्दी, भीमार्जुन आचार्य, राजु बस्नेत र सतीशकृष्ण खरेलले मिश्रको तर्फबाट बहस गरेका थिए।
सरकारी वकिलका तर्फबाट ८ जनाले बहस गरेका थिए।


