काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री मुकुल ढकाल नै भएको जनाएको छ। रास्वापालाई पत्र पठाउँदै आयोगले महामन्त्री ढकाल नै भएको जानकारी दिएको हो।
गत वर्ष रास्वपाले क्षकाललाई महामन्त्री तथा प्रवक्ताबाट हटाएको थियो। त्यसविरुद्ध ढकालले आयोगमा विवरण अपडेट भए/नभएको विषयमा आफूलाई जानकारी दिन निवेदन दिएका थिए।
रास्वपा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको हेरफेर १५ महिनाअघि भएको र त्यसपछि हालसम्म अद्यावधिक भएको अभिलेखबाट नदेखिएको आयोगको भनाइ छ।
रास्वपाबाट कारबाहीमा परेका ढकालले निर्वाचन आयोगमा अभिलेखको विवरण अद्यावधिक भए/नभएकोबारे सूचना माग गरेका थिए।
‘प्रस्तुत विषयमा तपाईँले यस आयोगमा मिति २०८२/०३/०४ मा दर्ता गर्नु भएको निवेदन माग बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको हेरफेर भएको विवरण मिति २०८०/१२/२० मा अद्यावधिक भएको र त्यसभन्दा पछि हालसम्म अद्यावधिक भएको अभिलेखबाट नदेखिएको ब्यहोरा आदेशअनुसार अनुरोध छ,’ आयोगले ढकाललाई पठाएको जवाफमा भनिएको छ।


