काठमाडौँ। नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसा प्रकरणका सम्बन्धमा छानविन समितिलाई विश्वास गरेर काम गर्न दिनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रमुख सचेतक घिमिरेले सदन बहिष्कार गरेका प्रतिपक्षी दलहरुलाई उक्त समितिलाई विश्वास गरेर काम गर्न दिनुपर्नेमा समेत जोड दिएका छन्। “यसरी सदन बहिष्कार गरेर कति दिन सम्म चल्छ? ससंसदीय अभ्यासमा सरकारमाथि विश्वास नगरेर कसरी हुन्छ?” उनले भने ।
उनले सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिले जिम्मेवारीपूर्वक काम गर्नेमा आफू पूर्ण रुपमा विश्वस्त रहेको समेत बताए।
प्रमुख सचेतक घिमिरेले समितिलाई साथ दिई सहयोग गर्न समेत आग्रह गर्दै,त्यसो गरेमा जनताप्रतिको कर्तव्य पनि हुने उल्लेख गरेका छन्। भिजिट भिसा प्रकरण सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानविन गरिरहेको उनको भनाई छ।


