काठमाडौँ- विष्णुमती खोलामा आएको बाढीले मान्छेसहितको कार बगाएको छ। गएराति बाढीले कारसँगै दाङ तुलसीपुर घर भई हाल टोखा बस्ने ३४ वर्षीया भावना ओलीलाई बगाएको हो।
बाग्मती प्रदेश ०३१ च ६१४१ नम्बरको ईभी कार गएराति १० बजे बाढीले बगाएको थियो। नेपाल प्रहरी र स्थानीयले भावनाको सकुशल उद्धार गरेका छन्। ग्राण्डी हस्पिटल नजिकबाट बगाएपछि भावनालाई बानियाटार पुल नजिकबाट स्थानीयको सहयोगमा उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।
कार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर–१ घर भई हाल काठमाडौंको धुम्बाराही बस्ने ३५ वर्षीय अंकुश सिंहले चलाएका थिए। उनी तत्काल गाडीबाट खोला किनारामा हाम फालेका थिए।
गाडीभित्र रहेकी ओली गाडीसहित बगिरहेको देखेपछि प्रहरीले पछ्याएको थियो। सो कार बग्दै बानियाटार पुलमा पुगेर अड्किएको थियो।
उद्धार गरिएकी महिला र उद्धारको क्रममा घाइते भएका व्यक्तिहरुको बसुन्धरास्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ।
उनीहरुको अवस्था सामान्य छ।


