काठमाडौँ- प्रधानमन्त्री केपी ओलीले गत शुक्रबार काठमाडौं चक्रपथको कलंकी–कोटेश्वर खण्डको ग्वार्को ओभरपास तामझामका साथ उद्घाटन गरे। नवनिर्मित ओभरपासमा नै आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उद्घाटन गरेका थिए।
प्रधानमन्त्रीको उपस्थितिमा उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीले ओभरपासको रिबन काटेका थिए। तर, ग्वार्कोसँगै डीपीआर बनेको एकान्तकुना र सातदोबाटोमा बनाउने भनिएको ओभरपास निर्माण भने अन्योलमा छ।
चक्रपथमा हुने ट्राफिक चापलाई कम गर्न इन्जिनियरिङ प्रोक्युअमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडेलमा निर्माण हुने गरी सडक विभागले आर्थिक वर्ष ०७६/७७ मा तीनै ठाउँमा ओभरपास बनाउने गरी अध्ययन गरेको थियो। तर,ग्वार्कोको ओभरपास संचालनमा आइसक्दा पनि सातदोबाटो र एकान्तकुना चोकको अध्ययन कागजमा मात्र सीमित भएको छ। सडक विभागले यी दुवै स्थानमा ओभरपास बनाउन कुनै प्रक्रिया नै अघि नबढेको जानकारी दिएको छ।
सडक विभागले ०७९ मा बहुवर्षीय आयोजनाअन्तर्गत तीनवटा ओभरपास बनाउन भन्दै रकको व्यवस्था गरिदिन अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको थियो। तर, त्यसवेला अर्थ मन्त्रालयले पैसा नभएको भन्दै सहमति नदिएपछि यी दुवै स्थानमा ओभरपास बनाउने काम त्यतिकै अड्किएको छ।
आर्थिक वर्ष ०८०/८१ को बजेटमा पनि सातदोबाटो र एकान्तकुनामा ओभरपास बनाउने घोषणा गरिएको थियो। तर यो घोषणाअनुसार कुनै काम भएन।
चालु आर्थिक वर्ष ०८१/८२ को बजेटमा ग्वार्को, सातदोबाटो र एकान्तकुनामा ओभरपास निर्माणका लागि ९ करोड ५२ लाख रुपैयाँ विनियोजन गरिएको थियो। यो सबै बजेट ग्वार्को ओभरपासमा खन्याइयो। सातदोबाटो र एकान्तकुनामा ओभरपास बनाउने कुरा पनि कागजमा पनि अघि बढेन।
यता सडक विभागका निर्देशक दीप बाराहीले सातदोबाटो र एकान्तकुनामा दुईवटा ओभरपासको निर्माणबारे छलफल गरेर अघि बढ्ने तयारी भइरहेको बताए। ‘ग्वार्को ओभरपासको निर्माणका क्रममा विभिन्न समस्या तथा चुनौती सामना गर्नुपर्यो। एकान्तकुना र सातदोबाटो समस्या नआओस् भनेर हतार नगरेका हौँ,’ उनले भने, ‘अर्थ मन्त्रालयले पनि स्रोतका लागि सहमति दिएन।’ दुवै परियोजनाको डीपीआर तयार भएको उनको दाबी छ। निर्माणको मोडालिटी टुंग्याउन भने बाँकी रहेको उनले उल्लेख गरे।
आरसी, समानान्तर र रेलिगेयर तीन कम्पनीले संयुक्त रूपमा ग्वार्को ओभरपास निर्माण गरेका हुन्। २३ पुस ०७९ बाट निर्माण सुरु हुनासाथ डिजाइनमा समस्या देखिएपछि एक महिनामै काम रोकिएको थियो। सुरुमा दुई वर्षमा काम सक्ने भनेका यी कम्पनीले पटकपटक म्याद थप लिएका थिए। पटकपटक म्याद थप गरिदिँदा पनि काम नसक्ने प्रवृत्ति देखाएपछि सरकारले पछिल्लो ६ महिनायता दैनिक ८८ हजार जरिमाना लगाइदिएको थियो।
ग्वार्कोमा ओभरपास सञ्चालनमा आएसँगै त्यहाँको जाम सातदोबाटो र कोटेश्वरमा पर्न थालेको छ। परम्परागत डिजाइनमै सडक बनेका कोटेश्वर, एकान्तकुना र सातदोबाटो चोकमा ट्राफिक चाप पहिलेदेखि नै उच्च छ। जाममा जडिबुटी पनि उतिकै विख्यात छ। अब ती सबै स्थानमा थप ट्राफिक चाप पर्ने ट्राफिक प्रहरीको भनाइ छ।


