काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) विद्या भण्डारीले एमालेमा बम पड्काउने ठानेर केही कार्यकर्ता र नेताहरू बसेको टिप्पणी गरेका छन्।
मदन भण्डारीको जन्मजयन्तीका अवसरमा कतिपयले एमाले फुट्छ भन्ने सपना देखेको तर पार्टी एकढिक्का रहेको उनको जिकिर छ। मदन भण्डारी जन्मजयन्तीकै कार्यक्रममा ओलीले यस्तो बताएका हुन्।
‘विद्या भण्डारीले बम पड्काउँनुहुन्छ। यहीँबाट एमाले ध्वस्त हुन सुरू गर्छ भन्ने सपना देखेर बसेका छन्। कुनै बम, बारूद, गोला, केही पड्किने वाला छैन। नेकपा (एमाले) एक छ एक रहन्छ। आश गरेर हुन्छ,’ उनले भने।
ओलीले बाहिर जुनसुकै प्रचार भए पनि एमाले मजबुत रहेको बताए। ‘अमेरिकी राष्ट्रपति चढ्ने गाडीमा गोली हाने पनि त्यहाँ सवार राष्ट्रपतिलाई थाहै हुँदैन, गाडी आफ्नो लयमा हिँड्छ,’ उनले भने, ‘ एमाले त्यस्तै मजबुत छ। विरोधीहरूले प्रहार गर्छ तर मजबुतका साथ आफ्नो बाटो हिँड्छ,’ उनले भने।
ओलीका भाषणमा विद्या भण्डारीले विभिन्न भावभंगी प्रस्तुत गरिरहेकी थिइन्।
तर ओलीले विद्याको भाषण सुनेनन्। ओली निस्केपछि विद्याले आफू एमालेको राजनीतिमा पुन: सक्रिय भएको घोणा गरिन्।


