कञ्चनपुर- गएराति देखिको अविरल वर्षाले डुबानमा पार्दा कृष्णपुर नगरपालिका–५ पवित्राबस्तीका आरती विकको ४ जनाको परिवारलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार विकको परिवारलाई नजिकै रहेको पवित्र आधारभूत विद्यालयमा सारिएको छ। वर्षाका कारण विकको घर डुबानमा परेपछि परिवारलाई सुरक्षित रूपमा विद्यालयमा सारिएको प्रहरी नायब उपरीक्षक बोहराले बताए।
‘वर्षा हुने क्रम निरन्तर जारी रहेकाले खोला नालामा माछा मार्न हिँड्डुल गर्न तथा जथाभाबी घर बाहिर नजानका लागि आग्रह गरेका छौँ,’ उनले भने, ‘डुबान तथा कुनै क्षति हुन गएमा नजिकको प्रहरी चौकीमा खबर गर्नका लागि स्थानीयसँग अनुरोध गरेका छौँ।’
उनका अनुसार महाकाली नदीमा पानीको बहाव खतरा तहभन्दा तल ६५ हजार ४९० क्यूसेक रहेको छ।
मोहना, चौधर, स्याली, सुनवोरालगायत नदीमा पानीको बहाव उच्च रहेको छ। मानवीय र चौपाया क्षति भने अहिलेसम्म नभएको प्रहरी नायब उपरीक्षक बोहराले बताए।
यसैबीच जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दै जिल्लाको अधिकांश स्थानमा भारी वर्ष भएको र थप वर्षा हुन सक्ने भएकाले नदी तटीय क्षेत्र, डुबान भइरहने होचा भूभागमा बाढीको जोखिम रहेकाले भोलि बिहानसम्म उच्च सर्तकताका साथ सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ।
कञ्चनपुरको बेलौरीमा १२ घण्टामै २७० मिलिमिटर वर्षा भएको छ। यस्तै कञ्चनपुरको कृष्णनगरमा १२ घण्टामा १९२ मिलमिटर र कैलालीको धनगढी विमानस्थलमा १२ घण्टामा १८१ मिलिमिटरभन्दा धेरै वर्षा मापन भएको छ।
वर्षाका कारण धनगढी बजार जलमग्न भएको छ। धनगढी उपमहानगरपालिकाको वडा नम्बर ८ र १२ लगायतका टोलका धेरैजसो घरमा पानी पसेर क्षति पुगेको छ । वडा नम्बर ८ को शिक्षानगरमा पनि डुबान भएको छ।
यस्तै कञ्चनपुरका पुनर्बास, कृष्णपुरलगायतका ठाउँमा केही घरमा बाढी पसेको छ। बाढीले डुबानमा परेपछि कृष्णपुर–५ पवित्रबस्तीको आरती विकको घरका चार जना सदस्यलाई प्रहरीले उद्धार गरेर नजिकैको आधारभूत विद्यालयमा राखेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए।
अत्यधिक वर्षा भएपछि मौसम पूर्वानुमान महाशाखाले सूचना निकालेर सावधानी अपनाउन भनेको छ। यस्तै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायहरूलाई उच्च सतर्कता अपनाउन र परिचालनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छ। उनले स्थानीय बासिन्दालाई पनि सुरक्षित रहन आग्रह गरे।


