काठमाडौँ– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान चालु आर्थिक वर्षमा नसकिने भएको छ।
सहरी विकास मन्त्रालयले बुधबार एक पत्रकार सम्मेलन गरी असार मसान्तसम्ममा त्रिवि मैदानको काम नसकिने बताएको हो।
२०८१ फागुन २१ गते सुरु भएको त्रिवि मैदानको काममा दोस्रो पटक म्याद थप गरिएको थियो। म्याद थपपछि वैशाख २४ सम्म सक्ने गरी मिति तय गरिएको थियो। तर सो मितिमा सम्पन्न नहुने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले असार मसान्तसम्म सक्न निर्देशन दिएका थिए।
हाल त्रिवि मैदानमा प्याराफिटको ७० प्रतिशत र फ्लड लाइटको २० प्रतिशत काम सकिएको छ। स्तरोन्नति कार्यका आयोजना प्रमुख चक्रवर्ती कण्ठले यो काम अर्को आर्थिक वर्षसम्म लम्बिने बताएका छन्। ‘प्राविधिक र प्राकृतिक कारणहरूले गर्दा तोकिएको समयमा आयोजना सम्पन्न नभएको हो’ उनले भने।


