काठमाडौँ–नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले आफूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको कुरामा कुनै सत्यता नरहेको दाबी गरेकी छन्।
आफूमाथि उठेका विषय सचिवालय बैठकमै प्रस्ट पार्न पाउ भन्दै बिहीबार पार्टी कार्यालयमा निवेदन दिन पुगेकी झाँक्रीले स्पष्टीकरणको विषयमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका कुरा निराधार भएको बताएकी हुन्।
अहिलेसम्म कुनै स्पष्टीकरण नसोधिएको र पार्टीका ठूला केही नेताहरूले टेलिभिजनबाट स्पष्टीकरण सोधेको भनेर हल्ला फिँजाएको उनको भनाइ छ।
‘केही शक्तिशाली पदाधिकारीहरूले मिडियामा स्पष्टीकरण सोध्नुभएको रहेछ। मलाई त सोधिएको छैन,’उनले भनिन्।
आफूले एउटा कार्यकर्ता भेलामा बोलेका कुरालाई लिएर पार्टीको ध्यानाकर्षण भइ निर्देशन जारी भएपछि कहीँ पनि सार्वजनिक रुपमा प्रतिक्रिया नदिएको उनले बताइन्। तर पार्टीका ठुला नेताहरूले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आफूविरुद्ध दिएको अभिव्यक्तिप्रति व्यक्तिगत र राजनीतिक हिसाबले प्रतिवाद गर्ने झाँक्रीको भनाइ छ।
उनले आफूले बोलेका विषयमा भने बैठकमा राख्ने उल्लेख गरिन्। स्थायी कमिटी बैठक तत्काल बस्ने अवस्था नरहेकाले जारी सचिवालय बैठकमा उपस्थित भइ स्पष्ट पार्ने मौका प्रदान गर्न आग्रह गर्दै उनले अध्यक्षका नाममा पत्र दर्ता गराएकी छन्।
झाँक्रीले असार १४ गते युवा संघ लुम्बिनी प्रदेशको भेलामा समय अगावै पार्टी नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएकी थिइन्।


