काठमाडौँ- पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीमा पर्ने दुम्कीबासको पुल भाँचिएको ६ महिनामा नै नयाँ पुल बनेको छ। २०८१ पुस २६ गते पूर्वी नवलपरासीमा रहेकामध्ये सबैभन्दा लामो विनयी खोला पुलको अत्यधिक भारसहितको भारतीय मालवाहक लरीका कारण पुल भाँचिएको थियो।
उक्त पुल बाँचिएपछि विनयी खोलाको नयाँ डाइभर्सनबाट सवारी सञ्चालन भइरहेका थिए। तर अब भने पुल निर्माण भएको हो। नारायणघाट-बुटवल सडक आयोजनाको अनुसार २४५ मिटर पुल आजबाट सञ्चालनमा आएको हो। आयोजनाका अनुसार हिजो कालोपत्रे सकेर आजबाट पुल सञ्चालन भएको हो।
पुल नहुँदा डाइभर्सनबाट सवारी सञ्चालन गर्नुभन्दा जोखिमयुक्त रहेको थियो। ६ असारमा विनयी त्रिवेणी गाउँपालिका-१ विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएको थियो।
काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बसलाई गए राति बाढीले बगाएको थियो। विनयी खोलाको नयाँ डाइभर्सनबाट बस गुडिरहेको बेला एक्कासि आएको बाढीले बस बगाउँदा ३८ यात्रुको रातभरी उद्धार गर्नुपरेको थियो।
पुल भाँचिएपछि पुलभन्दा उत्तरबाट डाइभर्सन बनाएर यातायात सुचारु गरिएको थियो। तर केही हप्तामै भारी वर्षा हुँदा डाइभर्सन बगाएर पूर्व-पश्चिम राजमार्गको यातायात र ढुवानी सेवा अवरुद्ध भएको थियो। पुल सञ्चालनमा नआउँदा सम्मका लागि डाइभर्सनको वैकल्पिक मार्ग प्रयोगमा ल्याइए पनि स्थानीयले मालवाहक ट्रक चल्न दिएका थिएनन्।


